नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असार ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । पर्सा, बहुदरमाई नगरपालिका-७ बस्ने नमि भन्ने श्याम बाबु प्रसाद कलवारकी छोरी १४ वर्षीया महिमा गुप्ताको बुधबार शव फेला परेको छ ।
सोही ठाउँस्थित छप्कैयाघाटमा छोरीको हत्या गरी शव जलाई रहेको भन्ने खबर हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त घाटमा चिता जलिरहेको अवस्थामा शव फेला परेको हो । प्रहरीले अनुसन्धानका लागि महिमाको परिवारका ३ जना सदस्यलाई नियन्त्रणमा लिएको छ भने हाल फेला नपरेका श्याम बाबु समेत २ जनाको खोजी गरिरहेको छ ।
त्यस्तै बझाङ, जयपृथ्वी नगरपालिका-७ धम्नाउबाट चुलिटीका जाने बाटोमा धम्नाउ बस्ने ५८ वर्षीय जोगगिरी बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन । यता कञ्चनपुर, भिमदत्त नगरपालिका-९ खल्लास्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी १९ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै प्युठान, प्युठान नगरपालिका-७ झिमरुक खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बोटबारीस्थित मनहरी खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

