नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असार ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । रूपन्देही, बुटवल उपमहानगरपालिका-१९ पश्चिम नहरपुर एघार कुलोमा भारतको गोरखपुर घर भएका २८ वर्षीय नन्दकिशोर निसाद आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका-१ चपरी बस्ने ६५ वर्षीय मान बाहदुर घलान घरबाट ५ सय मिटर टाढा रहेको भोर्लेटाडी भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ घरबाट निस्किएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
यस्तै झापा, गौरादह नगरपालिका-७ फगेटिभ बस्ने ५२ वर्षीय श्याम प्रसाद उप्रेती आफ्नै घरको ओछ्यानमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता संखुवासभा, मकालु गाउँपालिका-२ सेदुवा बस्ने ३८ वर्षीया दावा दीकि शेर्पा सोही ठाउँस्थित स्याङखोलामा मृत आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी सर्लाही, बरहथवा नगरपालिका-३ झिङयाही बस्ने जुगल दासको पोखरीमा सोही ठाउँ बस्ने ५० वर्षीय उगल पासवान आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

