नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असार ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस्तै काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने मोरङ घर भएकी ६४ वर्षीया सबिता खड्का गिरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । यता धादिङ, थाक्रे गाउँपालिका-८ फोकटपुरस्थित चौरमा सोही ठाउँ बस्ने ७० वर्षीय पोष्ट बहादुर खड्का सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दार्चुला, लेकम गाउँपालिका-१ चोतेबगरस्थित चौलानी नदीमा मार्मा गाउँपालिका- २ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंह सोमबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी सर्लाही, मलगंवा नगरपालिका-३ बस्ने ३५ वर्षीय बिजय पासवान आफ्नै घर अगाडि आँगनमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता सर्लाही बागमती नगरपालिका-९ सोल्टी जाने बाटोको छेउमा सोही नगरपालिका-८ ठकुरी टोल बस्ने ४० वर्षीय टक बहादुर ठकुरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सर्लाही, ईश्वरपुर नगरपालिका-१३ सागरनाथ जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब १९ महिनाकी बालिकाको शव पुरिएको अवस्थामा सोमबार फेला परेको छ । यस्तै मोरङ, रतुवामाई नगरपालिका-२ क्यापटोलास्थित कल्भटको पानी जमेको खाल्डोमा हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
यता गोरखा, गोरखा नगरपालिका-११ कुरिनडाँडा बस्ने ७० वर्षीय कृष्ण प्रसाद ढकाल आफ्नै घरबाट करिब ३ सय मिटर टाढा गोरेटो बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पर्सा, बहुदरमाई नगरपालिका-६ गमरीया बस्ने रामपृत पण्डितकी छोरी १५ वर्षीया चाँदनी कुमारी आफ्नै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

