नवराज घिमिरे
काठमाडौं, ३१ असार ।
धान्न सक्ने क्षमताभन्दा बढी कर्जा, लिइएको कर्जाको दुरुपयोग, परनिर्भरता र भ्रष्टाचार देशलाई अधोगतिमा लाने प्रमुख आर्थिक गतिविधिहरू हुन् । कुनै समय सुनको लङ्का भनेर चिनिने श्रीलङ्का टाट पल्टिने अवस्थामा पुग्नुमा उल्लेखित कुराहरू नै प्रमुख कारक हुन् भनेर भन्न कुनै द्विविधा छैन ।
केही वर्षअगाडिसम्म दक्षिण एशियाली देश श्रीलङ्का राम्रो आर्थिक अवस्था भएका देशहरूमध्ये पर्दथ्यो । सन् २०१९ मा सम्पन्न चुनावपछि आएको नेतृत्वको अक्षमता र परिवारवादले श्रीलङ्कालाई टाट पल्टिने अवस्थासम्म पुर्याइदियो । देशले गलत नेतृत्व पायो भने कस्तोसम्म अवस्था आउन सक्छ भन्ने पछिल्लो उदाहरण बन्यो श्रीलङ्का ।
श्रीलङ्कामा अहिले अभावै अभाव छ । पैसा भएर पनि किनेर खाने वा उपभोग गर्ने वस्तुको अभाव छ । खाद्यान्न, औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुको चरम अभाव छ । महङ्गीले आकाश छोएको छ । बजारमा कुनै वस्तु पाइँदैन, पाइए पनि आमजनताले किनेर खाने वा उपभोग गर्न सक्ने अवस्था छैन । अतः अहिले श्रीलङ्काका जनता भोकभोकै बस्न बाध्य छन् । भोकले क्रान्तिलाई जन्म दिन्छ, क्रान्तिले परिवर्तन खोज्छ । श्रीलङ्कामा पनि त्यस्तै भइरहेछ । भोक र अभावले आक्रोसित जनता असक्षम र खराव नेतृत्वका विरूद्धमा सडकमा ओर्लेका छन् । भ्रष्ट र असक्षम सरकारका नाइके राष्ट्रपति गोटाबाया राजपाक्षे डरले देश छोडेर भागेका छन् ।
कुनै समय हिरो रहेका गोटाबाया राजपाक्षे अन्ततः आफ्नै जनताबाट असुरक्षित भएर वा लखेटिएर भाग्नुपर्ने अवस्थामा पुगे । यो उनकै असक्षम नेतृत्वको उपज थियो ।
राजपाक्षेले विदेशबाट लिएको कर्जालाई चुनाव जित्नका लागि दुरुपयोग नगरेको भए, आफूले चुनाव जितेमा भ्याट रकम आधा घटाइदिने अव्यवहारिक निर्णय नगरेको भए, देशलाई आत्मनिर्भर बनाउनेतर्फ सकारात्मक पहल गरेका भए र जिम्मेवार पदमा योग्य व्यक्तिलाई चयन गरेका भए उनले पलायन हुनुपर्ने थिएन र श्रीलङ्काली जनताले यतिसम्मको दुःख पाउनुपर्ने थिएन । राजपाक्षे आफ्नै दम्भ र निरङ्कुशताका कारण जनताको कोपभागी बने र जनताको आक्रोसबाट बाँच्न देशै छोडेर भागे । उनी भागे पनि श्रीलङ्काली जनताको दुःख भने सजिलै भाग्नेवाला छैन ।
श्रीलङ्कामा लागेको आगोको रापले नेपालमा पनि पोल्न थालेको छ । शीर्ष तहका नेताहरू नै अन्ततः नेपाल पनि श्रीलङ्काकै मार्गमा पुग्ने अभिव्यक्ति दिन थालेका छन् । यस्तो अभिव्यक्ति जिम्मेवार तहमा रहेका नेताले बोल्नु हुने वा नहुने के हो ? विचारणीय बनेको छ ।
‘श्रीलङ्काकै मार्ग’ भनेको के हो ?
यसले दुईवटा कुरा निर्देशित गर्छ । पहिलो– नेपालका नेताहरू पनि श्रीलङ्काली राजपाक्षेहरूजस्तै भ्रष्ट र असक्षम छन् । देश भित्रभित्रै जर्जर अवस्थामा पुगेको छ । उनीहरूले गरेको देशघाती र जनताघाती कार्यको पर्दाफास हुनासाथ नेपाली जनता पनि उनीहरूको विरुद्ध प्रदर्शन गर्न सडकमा ओर्लने छन् । त्यस अवस्थामा जनताको आक्रोसको सामना गर्नको लागि तयार होऊ ।
दोस्रो– धर्यताको सीमा नाघेर जनता सडकमा उत्रने अवस्था आयो भने कथित नेताहरूको कालो कर्तुत खुल्ने छ । त्यस अवस्थामा हालसम्म देशलाई लुटिरहेका नेताका लागि आफ्नै देश सबैभन्दा असुरक्षित हुने छ । त्यसैले को कहाँ कहाँ शरण लिन जाने हो, पहिले नै भिजा लगाएर तयारी अवस्थामा बस भन्ने हो । तर यो दुबै अवस्था देश र जनताको हितमा हुनेछैन ।
श्रीलङ्कामा जस्तै नेपालमा पनि वैदेशिक कर्जाको दुरुपयोग बढेको छ । आत्मनिर्भर हुने किसिमले कुनै उद्योग–धन्दा खोलिएका छैनन् बरू पहिले खोलिएका उद्योगहरू पनि धराशयी अवस्थामा पुगेका छन् । भ्रष्टाचारले संस्थागत रूप लिएको छ । वेथिति र अराजकता बढेको छ । महङ्गीले आम जनताको ढाड सेकेको छ । सत्ता निकटका केही सीमित व्यक्तिहरूबाहेक सबैको अवस्था दयनीय छ । चुनावमा भ्रम छर्ने कामबाहेक केही हुँदैन । महत्वपूर्ण स्थानमा योग्य व्यक्तिको पहुँच पुग्दैन । यी सबै देशलाई अधोगतिमा लाने सूचकहरू हुन् ।
त्यसैले पनि राम्रो काम गरेर देश रूपान्तरण गर्ने सिजनशीलता नभए पछि आफ्नो हैसियत बुझेर नेताहरूले नेपाल ‘श्रीलङ्काको मार्ग’ मा पुग्ने भविष्यवाणी गरेका हुनसक्छन् ।