भोकमरीको चपेटामा श्रीलङ्का : कहिले र कसरी होला समाधान ?

नयाँ नेतृत्व पाएसँगै श्रीलङ्काको विद्रोह समाधान उन्मुख होला त !

राष्ट्रपति पदमा रानिल विक्रमासिंघे निर्वाचित भएसँगै श्रीलङ्काले नयाँ नेतृत्व पाएको छ । पूर्व राष्ट्रपति गोताबाय राजपाक्षे भागेर सिङ्गापुर पुगेर इमेलमार्फत् सभामुखसमक्ष राजीनामा पठाएपछि नयाँ बनेका प्रधानमन्त्री रानिल विक्रमासिंघेलाई अन्तरिम राष्ट्रपतिको सपथ खुवाइएको थियो । पछि उनी विधिसम्मत रूपमा राष्ट्रपति बने । कानुनी रूपमा विक्रमासिंघे नयाँ नेतृत्वको बागडोर सँभाल्ने स्थानमा पुगे पनि भोक, रोग, अभाव र महङ्गीले सडकमा उत्रन बाध्य लाखौं श्रीलङ्काली जनताको मन र विश्वास जित्न र थलापरेकोे श्रीलङ्कालाई ट्रयाकमा ल्याउन उनी सफल होलान् वा नहोलान् ? यो आजको सन्दर्भमा अत्यन्त गम्भीर प्रश्न बनेको छ । यही प्रश्नको सेरोफेरोमा इतिहासमा समृद्धशाली रहेको श्रीलङ्काको भाग्य र भविष्य निहित रहने देखिन्छ ।

श्रीलङ्काको सङ्क्षिप्त चिनारी :
लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का दक्षिण भारतको सीमाभन्दा ३१ किलोमिटर दक्षिण एउटा टापु देशका रूमा विद्यमान छ । यो चारैतिर हिन्द महासागरबाट घेरिएको छ । श्रीलङ्काको कुल क्षेत्रफल ६५ हजार ६१० वर्गकिलोमिटर रहेको छ भने सन् २०१२ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २ करोड २० लाखको हाराहारी छ । यहाँ सिंहली ७४ प्रतिशत, तमिल १८ प्रतिशत, इसाई ७ प्रतिशत र बाँकी अन्य जाति बसोबास गर्दै आएका छन् ।



प्रशासकीय रूपमा श्रीलङ्का ९ प्रान्तमा बाँडिएको छ । कोलम्बो श्रीलङ्काको सबैभन्दा ठूलो शहर हो । कोलम्बो यसअघि श्रीलङ्काको राजधानी थियो तर अहिले श्रीलङ्काको राजधानी श्री जयवर्धनेपुरा हो । श्रीलङ्का बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक परम्परा भएको देश हो । यहाँका ९३ प्रतिशत जनता साक्षार छन् ।

श्रीलङ्काको पुरानो नाम सिलोन (Ceylon) हो । श्रीलङ्का पहिले डचबाट र पछि बेलायतबाट शासित भयो । यो देश सन् १८०२ सम्म बेलायतको ठूलो उपनिवेशका रूपमा रह्यो । बेलायतबाट स्वतन्त्रताका लागि मध्यम् वर्गीय श्रीलङ्कनको अगुवाइमा शान्तिपूर्ण राजनैतिक आन्देलन भयो । आन्दोलनको परिणाम्स्वरूप १९४८ फेब्रुअरी ४ मा सिलोन डोमिनियन स्टेट (Dominion State) बन्यो भने १९७२ मई २२ मा गणतन्त्र घोषित भई पूर्ण स्वायत्त देश बन्न सफल भयो । त्यसपछि देशको नामै फेरेर लङ्का राखियो । सन् १९७८ मा ‘लङ्का’ नाममा सम्मानसूचक ‘श्री’ थपेर ‘श्रीलङ्का’ बनाइयो ।

श्रीलङ्का लगभग ३० वर्षसम्म गृहयुद्धको भुमरीमा फँस्यो । सन् २००९ मा उग्र राष्ट्रवादी संगठन तमिल इलम वा तमिल टाइगर्स (लिट्टे) को विद्रोहलाई पराजित गर्न तत्कालीन राष्ट्रपति महेन्दा राजापाक्षे सफल भएका थिए । यस सफलताले राष्ट्रपति महेन्दा राजापाक्षेलाई हाइहाई बनाएको थियो । महेन्दाको मन्त्रीमण्डलमा गोताबाय राजापाक्षे रक्षा तथा शहरी विकासमन्त्री थिए । पारिवारिक मोह र अदूरदर्शी शासन प्रणालीका कारण उनीहरूले आफ्नो गरिमामय इतिहासलाई बचाउन सकेनन् ।

श्रीलङ्काको आयको पहिलो ठूलो स्रोत पर्यटन हो भने दोस्रो ठूलो स्रोत कृषि हो । श्रीलङ्काबाट ठूलो मात्रामा नरिवल, चिया र रबर निर्यात हुन्थ्यो । श्रीलङ्काका कपडा पनि विश्व बजारमा निर्यात हुने गर्दथ्यो । दक्षिण एशियाली मुलुकहरूमध्ये सुदृढ अर्थव्यवस्था भएको र कुनै बेला हिन्द महासागरको हिरा भनेर चिनिने श्रीलङ्का आज भने अत्यन्त दयनीय अवस्थाबाट गुज्रिरहेको छ ।

श्रीलङ्का कसरी फँस्यो आर्थिक र राजनीतिक सङ्कटमा ?
इतिहासमा निक्कै गौरवशाली रहेको श्रीलङ्का पछिल्लो तीन वर्षयता कुशासनका कारण सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । हुन त यसको पृष्ठभूमि सन् २०१० देखि नै बन्न आरम्भ भएको थियो भनिन्छ । तर २०१९ देखि भने सँभाल्ने नसक्ने अवस्थामा पुग्यो । सन् २०१० देखि २०२२ सम्मका १२ वर्षमा पाँचपटक सरकार परिवर्तन भयो । श्रीलङ्कामा सन् २०१९ देखि गोताबाय युग आरम्भ हुनुभन्दा अगाडिसम्म श्रीलङ्कन फ्रिडम पार्टी, युनाइटेड नेशनल पार्टी, श्रीलङ्का पोदुजना पेरामुना आदि राजनैतिक पार्टीहरूले आलोपालो सत्ताको बागडार सँभाल्ने अवसर पाए तर पनि कसैले श्रीलङ्काको गौरवशाली अतितलाई बचाउने कार्यमा ठोस योगदान दिन सकेनन् ।

सन् २०१९ को निर्वाचनमा ठूलो धनराशि खर्च गरेर र आकर्षक नारा लगाएर गोताबाय राजापाक्षे (जन्म : १९४९ जुन २०) सत्ताको कार्यकारी पदमा पुगे । उनी श्रीलङ्काको कार्यकारी राष्ट्रपति बने । उनीसँग पूर्व राष्ट्रपति महेन्दा राजापाक्षे (दाजु) को कार्यकाल (२००५–२०१५) मा रक्षा तथा शहरी विकास मन्त्रीका रूपमा काम गरेकोे र तमिल टाइगर्सलाई परास्त गर्दै श्रीलङ्कालाई लामो गृहयुद्धबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको अनुभव पनि थियो । सम्भवतः त्यसैले पनि उनीबाट जनताले धेरै आशा र अपेक्षा राखेका थिए ।

तर गोताबायले जनताको अपेक्षाअनुसार कार्य गर्न सकेनन् । अपेक्षाविपरीत उनले राजापाक्षे परिवारका सदस्यहरूलाई महत्वपूर्ण पदमा नियुक्ति दिए । उनले दाइ महेन्दालाई प्रधानमन्त्री बनाए भने अरू दुई भाइमध्ये बासिललाई वित्तमन्त्री र चमललाई सिंचाइमन्त्री बनाए । सम्बन्धित क्षेत्रको ज्ञान र अनुभवविहीन बासिलले आर्थिक क्षेत्र र चमलले कृषि क्षेत्र चौपट्ट बनाइदिए ।

परिणाम्स्वरूप श्रीलङ्का वैदेशिक ऋणमा चुलुम्म डुब्न पुग्यो भने विदेशी मुद्राको सञ्चिति अत्यन्त न्युन हुनपुग्यो । विदेशी मुद्राको अभावमा अत्यावश्क वस्तु खरिद गर्न नसक्ता खाद्यान्न, औषधि र इन्धनलगायतका वस्तुको चरम अभाव सिर्जना भयो । महङ्गी यति आकाशियो कि पाइएका वस्तु खरिद गर्न पनि आम उपभोक्ताका लागि असम्भव प्रायः भयो र उपभोक्ता भोकभोकै रहन बाध्य भए । अमेरिकन डलरको तुलनामा श्रीलङ्कन रुपैयाको मूल्य इतिहासकै कमजोर सावित भयो ।

फलस्वरूप आज श्रीलङ्काका आम जनता भोकै र प्यासै बस्न बाध्य छन् भने दिनको ११-१२ घण्टासम्म लोडसेडिङको मार खप्न पनि बाध्य छन् । कलकारखाना बन्द छन् । कृषि क्षेत्रमा पनि नराम्रो असर परेर चामल, गहूँदेखि धेरै प्रकारका खाद्यवस्तु निर्यात गर्ने देश अहिले ती वस्तुहरू आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । यसले विदेशी मुद्रा भण्डारणमा नकारात्मक असर पार्योे । निर्यात हुने वस्तुहरूको उत्पादन नै हुनछोड्यो । अन्ततः कुनै बेला छिमेकी देश भारतभन्दा दोब्बर बडी ‘पर क्यापिटा इनकम’ भएको देश अहिले भोकमरीबाट गुज्रन बाध्य हुनपुग्यो । सरकार देशले लिएको ऋणको साँवाब्याज भुक्तान गर्न सक्ने अवस्थामा पनि रहेन । यसरी विवेक शून्य तर विलासी शासकहरूका कारण श्रीलङ्का टाट पल्टिने अवस्थामा पुग्यो । जिम्मेवार पदमा अयोग्य व्यक्ति पुग्दा कस्तोसम्म हुनसक्छ भन्ने पछिल्लो उदाहरण बनेको छ श्रीलङ्का ।जनइच्छाविपरीत परिवारवादमा रमाउन खोज्ने नाइके गोताबाय राजापाक्षे भोका जनताको आक्रोस सामना गर्न नसकेर देशै छोडेर भाग्न बाध्य बनेका छन् । उनको पलायनपछि रानिल विक्रमासिंघे (जन्म : १९४९ मार्च २४) श्रीलङ्काका राष्ट्रपति बनेका हुन् ।

जनताले विक्रमासिंघेलाई पनि विश्वास गर्न सकेका छैनन् । उनीहरूलाई लाग्छ– विक्रमासिंघे पनि राजापाक्षेहरूकै प्रभावबाट मुक्त छैनन् र उनीहरूकै छायाको रूपमा काम गर्नेछन् । उनीसँग टाट पल्टिने अवस्थामा पुगेको श्रीलङ्काको कायापलट गर्ने योजना, सम्भावना र सामथ्र्य छैन । अतः आम जनता विक्रमासिंघे नेतृत्वमा आए पनि सडकबाट ढुक्क भएर घर फर्किने अवस्थामा छैनन् । उनीहरू चाहन्छन्– विक्रमासिंघेले पनि राजीनामा दिऊन् र नयाँ नेतृत्वका लागि बाटो प्रसस्त गरिदिऊन् । तर सत्तारोहणपछि विक्रमासिंघेले राजीनामा दिने होइन, उनले विद्रोहीप्रति झन कठोर रूपमा प्रस्तुत हुने सङ्केत देखाइसकेका छन् । उनको यसप्रकारको रवैयाले बलेको आगोमा घ्यु थप्ने कार्य गर्ने निश्चित छ । यसअवस्थामा श्रीलङ्कामा लागेको विद्रोहको आगो कसरी शमन होला भनेर अहिले नै अनुमान गर्न हतार हुनेछ ।

श्रीलङ्कामा आर्थिक र राजनीतिक सङ्कट आउनुका केही प्रमुख कारणहरू :
१) आतङ्ककारी हमला तथा कोरोनाको प्रभाव :
श्रीलङ्काको आयको प्रमुख स्रोत पर्यटन हो । सन् २०१५ र ०१६ मा भएको आतङ्ककारी हमलाबाट पर्यटकहरूमा नकारात्मक असर परी पर्यटकको सङ्ख्यामा ठूलो रूपमा कमी आएको थियो । अझ २०१९ देखि विश्वव्यापी रूपमा देखिएको कोरोना सङ्क्रमणको कारणले पर्यटकको सङ्ख्या शून्यमा झारिदियो । कुल ग्राह्यस्त उत्पादनको झण्डै १० प्रतिशत धानेको क्षेत्र धराशायी हुँदा वार्षिक रूपमा श्रीलङ्काले चार बिलियन डलरको नोक्सानी व्यहोर्नुपर्ने भयो । यसले एकातिर आय स्रोतमा धक्का दियो भने अर्कोतिर विदेशी मुद्राको भण्डारलाई प्रभावित पारिदियो । कोरोनाका कारण लाखौंको सङ्ख्यामा श्रीलङ्कालीले रोजगारी गुमाउँदा राष्ट्रिय ढुकुटीमा र विदेशी मुद्रा सञ्चिति दुबैतिर असर पर्नगयो ।

२) अर्गानिक खेतीको भूत :
आयको दोस्रो ठूलो स्रोत कृषि क्षेत्र थियो । श्रीलङ्काबाट खाद्यान्न, नरिवल, चिया तथा रबर विदेश निर्यात हुन्थ्यो । तर एकाएक श्रीलङ्कन सरकारमा अर्गानिक खेती गर्ने भूत सवार भयो । त्यहाँका ९० प्रतिशत किसानहरू रासायनिक मल र कीटनाशक औषधिको प्रयोग गरेर राम्रो आम्दानी गर्नेगर्थे । सरकारले अर्गानिक खेती गर्ने भनेर रासायनिक मल र कीटनाशक औंषधिमा प्रतिबन्ध लगाइदियो । पूर्व तयारी विना गरिएको यस कार्यले कृषि उत्पादनमा ठूलो गिरावट आयो । चीनबाट आयत गरेर ल्याएको प्राङ्गारिक मलमा एक किसिमको व्याक्टेरिया भेटियोे जसले उल्टै मल प्रयोग गरिएका फसल तथा बोटविरुवा खाएर नष्ट गरिदियो । आवश्यक तयारीविना गरिएको यो निर्णय श्रीलङ्काको लागि आत्मघाती सावित भयो । परिणाम् स्वरूप चामल र गहूँ आयत गर्नैका लागि अर्बौं विदेशी मुद्रा खर्चिनुपर्यो ।

३) विदेशी कर्जाको ठूलो भार :
भनिन्छ श्रीलङ्कामा ५१ खर्ब डलरभन्दा बढी वैदेशिक ऋण छ । दाता पाइयो भन्दैमा क्षमता र हैसियतभन्दा बढी कर्जा लिनु देशको हितमा हुँदैन । विभिन्न प्रोजेक्टको बाहनामा श्रीलङ्काले चीन र जापानबाट अत्याधिक कर्जा लियो । चीनले दिएको कर्जाको व्याज महङ्गो हुन्थ्यो । आय आर्जनका स्रोतहरू सुक्तै गएपछि श्रीलङ्कालाई व्याजमात्र तिर्न पनि गाह्रो हुनथाल्यो । वैदेशिक कर्जाको साँवाव्याज डलरमा भुक्तानी गर्नुपर्ने हुँदा विदेशी मुद्रा कोषमा दबाब पर्न थाल्यो ।

जीडीपी अर्थात् कुल गाह्यस्त उत्पादनको २० प्रतिशतसम्म ऋण लिनुलाई सामान्य मानिन्छ । यसको रेसियोले ६० प्रतिशन नाघ्यो भने खतराको सङ्केत मानिन्छ । श्रीलङ्काको डेट टु जीडीपी १२० प्रतिशत पुगेको अनुमान छ । अर्थात् देशले एक वर्षमा कुल १०० रुपैया कमायो भने उसले १२० रुपैयाँ ऋण तिनुपर्ने हुन्छ । कुल आम्दानीले ऋण तिर्नै पुग्दैन भने देश कसरी चल्छ ? श्रीलङ्का यही नियति भोग्दैछ । सन् २०२२ मा श्रीलङ्काले झण्डै ८ अर्ब डलर भुक्तानी गर्नुपर्ने छ जब कि श्रीलङ्का सरकारको ढुकुटीमा पुगनपुग २ अर्ब डलर मात्र सञ्चिति छ ।

४) करमा छुट :
दीर्घकालीन परिणाम्को ख्याल नगरी करको दरमा गरिएको छुट पनि श्रीलङ्का सरकारको लागि आत्मघाती निर्णय सावित भयो । चुनावताका उद्घोष गरिएझैं गोटाबाय राजापाक्षेले १५ प्रतिशत लाग्दै आएको भ्याटलाई ८ प्रतिशतमा झारिदिए । भ्याटको दरमा कटौती हुँदा जीडीपीमा २ प्रतिशतभन्दा बढी क्षति भयो ।

ट्याक्स होलीडे वैदेशिक उद्योग भित्र्याउन गरिएको घोषणा थियो तर कोरोनाको कहर र राजनैतिक अस्थिरताले गर्दा सोचेको उल्टो भयो । बाहिरबाट लगानी त भित्रिएन नै, स्थापित भइसकेका उद्योग व्यवसायहरूले पनि ट्याक्स होलीडेको लाभ लिन खोज्दा भइरहेको आम्दानी पनि गुम्न पुग्यो ।

५) रुस युक्रेन युद्धको प्रभाव :
लामो समयदेखि चलिरहेको रुस र युक्रेनबीचको युद्धले विश्व नै प्रभावित भइरहँदा श्रीलङ्का प्रभावित नहुने कुरै भएन । सामान्य अवस्थामा श्रीलङ्काबाट रुस र युक्रेनमा ठूलो मात्रामा चिया निर्यात हुन्थ्यो । युद्धका कारण रुस र युक्रेनसँग डलरको कमी हुँदा चिया आयत रोकियो । अर्कोतिर रुस र युक्रेनबाट ठूलो मात्रामा पर्यटकहरू श्रीलङ्का घुम्न जान्थे । कोरोना र युद्धका कारण त्यो अवस्था रहेन । यसले पनि श्रीलङ्काको अर्थतन्त्रलाई ठूलो धक्का लाग्नपुग्यो ।

६) महङ्गाइ :
विदेशी मुद्राको अभावमा दैनिक उपभोग र अत्यावश्यक वस्तुहरू आयत गर्न नसक्ता महङ्गीले आकाश छोएको अवस्था छ । आम जनताको क्रयशक्ति क्षीण भएको छ । खाद्यान्न, औषधि, दूध, इन्धनलगायतका वस्तुको भाउ छोइनसक्नु छ । जनता भोकमरीमा छन् भने उद्योग धन्दा धराशायी छन् । यसले पनि श्रीलङ्काको अर्थतन्त्रलाई चौपट्ट बनाइदियो ।

७) भ्रष्टचार :
आर्थिक क्षेत्रलाई धराशायी बनाएर देश कङ्गाल बनाउने अर्को डरलाग्दो पक्ष हो भ्रष्टाचार । जहाँ असक्षम र अदुरदर्शी शासक हुन्छन् त्यहाँ भ्रष्टाचारले मौलाउने अनुकूल वातावरण पाउँछ । त्यस्तो समाजमा भ्रष्टाचार संस्कार नै बनिदिन्छ । राजापाक्षेहरूको पारिवारिक शासनतन्त्रमा भ्रष्टाचारले पनि नयाँ उचाइ पायो । अतः भ्रष्ट्राचार पनि अर्थतन्त्रलाई ध्वस्त बनाउने कारण बन्न पुग्यो ।

८) विदेशी मुद्रा सञ्चितिमा कमी :
माथि उल्लेख गरिएका कारणहरूले गर्दा स्वाभाविक रूपमा विदेशी मुद्राको सञ्चितिमा कमी आउने नै भयो । त्यसै पनि निर्यातभन्दा आयत बढी हुनेभएपछि विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने हुन्छ । र भयो पनि त्यस्तै । जब ऋण लिएको रकम खर्च गरेर खाद्यान्नलगायत विलासिताका वस्तुहरू आयत गरिन्छ भने श्रीलङ्का मात्र होइन, सबै देशको हालत त्यस्तै हुन सक्छ ।
(क्रमशः)

(विभिन्न एजेन्सीको सहयोगमा तयार गरिएको)

सम्बन्धित समाचार