मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । अर्घाखाँची, पाणिनि गाउँपालिका-२ गिद्देभिर भन्ने जंगलमा मालारानी गाउँपालिका-२ मरेङ बस्ने ४५ वर्षीय बिष्णु बहादुर पाण्डे शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

गत सोमबार घरबाट निस्केका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी खिदिमबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।



त्यस्तै काठमाडौं, दक्षिणकाली नगरपालिका-८ छैमलेस्थित ढुंगेल बस्तीको खोल्सामा नुवाकोट घर भएका ३५ वर्षीय धन कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता दाङ, घोराही उपमहानगरपालिका-१० चारबगीया बस्ने बिन्दु पुनकी छोरी ३ वर्षीय लिबिसा पुन घर नजिकै रहेको नहरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै उदयपुर, त्रियुगा नगरपालिका-१३ स्थित श्री देवालय राजाजी जोगिपोखरी मन्दिरको पेटिमा सप्तरी ओद्राहा घर भएका ५२ वर्षीय मिश्रीलाल यादव नाम बताउने पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।  त्यसैगरी गुल्मी, धुर्कोट गाउँपालिका-५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका-६ बस्ने ३८ वर्षीय टिका बहादुर कुमाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता इलाम, देउमाई नगरपालिका-१ मैदाने बस्ने ३८ वर्षीय थालुमान राई सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पर्सा, जगरनाथपुर गाउँपालिका-२ दसिता टोलस्थित गण्डक नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार