नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन ।
राइड सेयरिङ भनेको अनलाइन अथवा एपको माध्यमबाट सम्पर्क गरी बोलाइएका ट्याक्सी अथवा मोटरसाइकलले दिने सेवा हो । यस्तो सेवामा यात्रुले बुझाउनुपर्ने भाडा निर्धारित हुन्छ र त्यस्तो भाडा पनि मोबाइल बैंकिङ अथवा अनलाइनका माध्यमहरूबाट भुक्तानी गरिने हुँदा यात्रु ठगिने वा मोलमोलाइको झञ्झटमा फँस्नु पर्ने हुँदैन । पछिल्लो समयमा नेपालमा राइड सेयरिङ्ग प्लेटफर्मका नाममा धेरै विदेशी कम्पनीहरू भित्रिएका छन् ।
विदेशको सिको गर्दै पछिल्लो समयमा नेपालमा पनि त्यस किसिमको सेवाको आरम्भ भएको हो । यी सेवाहरू हालमा नेपालको काठमाडौंमा मात्र सीमित देखिन्छन् । नेपालमा हाल सञ्चालनमा आएका राइड सेयरिङ कम्पनीहरूमा पठाओ, इनड्राइभर, टुटल, ट्याक्सिमाण्डु, साहारा, जायर आदि हुन् ।
नेपालमा यस्ता राइड सेयरिङ कम्पनीहरू कति छन् र कुन अवस्थामा छन् भन्ने विषयमा प्राप्त जानकारीका आधारमा एउटा सामग्री तयार गरिएको छ ।
पठाओ :
पठाओ राइड सेयरिङ कम्पनी नेपालमा २४ सेप्टेम्बर २०१८ बाट शुरू भएको होे । यो बंगलादेशबाट आरम्भ भएको अमेरिकन कम्पनी हो । नेपालमा राइड सेयरिङ्ग प्लेटफर्मका नाममा पठाओले आफूलाई गुड राइड सेयरिङ्ग कम्पनीको भएको दाबी गर्दछ । आजसम्मको स्थितिमा यो नेपालको लोकप्रिय राइड सेयरिङ कम्पनी पनि हो ।
कम्पनीले नेपालको प्रचलित कानुनी प्रक्रिया पूरा गरेको छ । यसको आफ्नै कार्यलय छ । यस कम्पनीले राइडर तथा यात्रु दुबै पक्षको बीमा गरेको छ । राइड सेयरिङ कम्पनीहरूमध्ये राइडर र यात्रुको बीमा गर्ने यो पहिलो कम्पनी भएको पठाओकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् । पठाओको सेवा लिइरकेको अवस्थामा दुर्घटना भई घाइते भए राइडर र यात्रुलाई एक लाखसम्मको र निधन नै भए १० लाखसम्मको बीमा गरिएको पनि हमालले जानकारी दिइन् ।
पठाओको ३० लाखभन्दा बढी एप डाउनलोड भएको दावी गर्दै हमालले विधिवत् दर्ता भएका आधारमा हाल मोटरसाइकल, स्कुटर र ट्याक्सी गरी डेढलाखभन्दा बढी राइडरले सेवा प्रदान गरिरहेको पनि बताइन् । पठाओको लोकप्रियतालाई दुरुपयोग गर्दै चोक चोकमा उभिएर पठाओको नाममा अफलाइन कारोबार गर्ने अवैध राइडरका कारण कहिलेकाहीँ समस्या पर्ने गरेको गुनासो गर्दै उनले सबै कस्टमरलाई पठाओको अनलाइन सेवा मात्र लिन अपिल गरेकी छन् । अहिले काठमाडौंमा मात्र केन्द्रित भए पनि चाँडै काठमाडौंबाहिर चितवनमा पनि सेवा दिने योजना रहेको पनि हमालले जानकारी गराइन् ।
पठाओले कल सेन्टर स्थापन गरी यात्रुको गुनासाहरू पनि सुन्ने प्रणाली विकास गरेको छ । कल सेन्टरमा ६० जना कर्मचारीहरू आलोपालो गरी चौबीसै घण्टा खटेर सेवा दिइरहेको पनि हमालले जानकारी गराइन् । प्रत्यक्ष वा परोक्ष रूपमा हजारौंलाई रोजगारी प्रदान गर्न सफल पठाओले अरू कम्पनीको तुलानामा विश्वसनीय र भरपर्दाे सेवा प्रदान गरेको पठाओका राइडर प्रेम कार्की बताउँछन् ।
नेपालमा यस प्रकारको सेवा नयाँ भएकोले यस किसिमको सेवालाई व्यवस्थित रूपमा कानुनमा समेट्न नसक्ता कहिलेकाहीं समस्या पर्ने गरेको पनि प्रवक्ता हमालले बताइन् । यातायात ऐनभित्र यी कुराहरू समेट्न सके यो व्यवसाय थप व्यवस्थित हुने उनको धारणा रहेको छ ।
इनड्राइभर :
इनड्राइभर राइडसेयरिङ्ग प्लेटफर्म पनि एक विदेशी कम्पनी हो । यस कम्पनीले सन् २०२० देखि नेपालमा राइड सेयरिङ्ग प्लेटफर्म सञ्चालन गरेको पाइन्छ । यसको मुख्य कार्यलय अमेरिकाको क्यालिफोर्नियामा रहेको उनीहरूको वेबसाइटबाट खुल्दछ ।
इनड्राइभर नेपालको प्रचलित कानुनअनुसार कहीँ कतै दर्ता गरेको रेर्कड भेटिँदैन । यसको सम्पर्क कार्यलय पनि छैन र कल सेन्टर पनि छैन । राइडर र सेवाग्राही दुबैलाई समस्या पर्दा समाधान गर्ने कुनै सिष्टम नै देखिँदैन । अहिलेलाई यो सेवा मोबाइल एपमार्फत जोडिएका चालकहरूको सञ्जालले चलाइरहेको बुझिएको छ ।
टुटल :
अर्को राइड सेयरिङ्ग कम्पनी टुटल सन् २०१७ देखि नेपालमा सञ्चालन हुन थालेको पाइन्छ । त्यतिबेला त्यस्तो कम्पनीबारे थोरैलाई मात्र जानकारी थियो । त्यसैले पनि यस किसिमको सेवाका बारे राज्यलाई बुझाउन पनि धेरै समय लाग्यो । पछि टुटलले पनि आफ्नो सेवालाई समयअनुसार परिवर्तन गर्दै राइडर तथा यात्रुको बीमा लगायत सेवा सुबिधा उपलब्ध गराउन थालेको पाइन्छ । तर हाल टुटलको सेवा स्थगित रहेको बुभिएको छ ।
ट्याक्सिमाण्डु :
अर्को राइड सेरियङ्घ कम्पनी हो । यो कम्पनी नेपालको कानुनअनुसार विधिवत दर्ता गरी सञ्चालन गरेको बताउँछन् सञ्चालक अर्जुन केसी ।राइड सेयरिङ्ग कम्पनीहरूले आ–आफ्नो किसिमले सेवा आरम्भ गरे पनि नेपाल सरकार, बाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले हालसम्म राइड सेयरिङ्घ कम्पनीको कार्यविधि बनाइनसकेको तर बनाउने प्रक्रियामा रहेको उप सचिव हरिहर पोख्रेल बताउँछन् ।
विदेशमा यस्तो व्यवसाय राम्ररी फस्टाएका छन् । नियामक निकाय र दुर्घटना भइहाले के गर्ने भन्ने स्पष्ठ कार्यविधि पनि छ । यस किसिमको सेवा समयको माग पनि हो । नेपालमा पनि राइड सेयरिङ सेवा आरम्भ भएपछि ट्याक्सीको मनोमानी घटेको छ । अतः विधि र पद्दतिभित्र रहेर सेवा दिन चाहनेहरूका लागि बाटो प्रसस्त गर्न नेपाल सरकार पनि पछि पर्नु हुन्न । यस व्यवसायलाई प्रचलित कानुनको दायराभित्र ल्याउन अब राज्यले कत्ति पनि बिलम्ब नगरोस् भन्ने आम धारणा रहेको छ ।