नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ । आज (सोमबार) आइओसी पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
आइओसीबाट प्राप्त मूल्यमा पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगमले जनाएको छ । यसअघि आइओसीले जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले घटाएर नयाँ सूची पठाएको थियो ।
मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । तर, निगमका अनुसार डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासमा भने अझै निगमलाई घाटा लाग्ने देखिन्छ । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ओरालो लाग्नेने क्रम जारी रहेकोले दोस्रो पटक इन्धनको मूल्य घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ ।