नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोटस्थित मकैबारीमा सोही नगरपालिका- ७ रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यता ललितपुर, ललितपुर महानगरपालिका-१४ ताल्चीखेल बस्ने भोजपुर घर भएका ७० वर्षीय हरि बहादुर श्रेष्ठ सोही स्थानको सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रोल्पा, रोल्पा नगरपालिका-१ मेवाङ डेरा गरी बस्ने त्रिवेणी गाउँपालिका-१ टुक्लाकरेटी घर भएका ४७ वर्षीय बल बहादुर डाँगी आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै डडेलधुरा, अमरगढी नगरपालिका-२ कुश्मालीस्थित घटाल खोलामा सोही नगरपालिका-५ बस्ने १८ वर्षीय किरण पाठक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी मोरङ, सुन्दरहरैचा नगरपालिका-८ सलकपुरस्थित सडकमा रहेको ना.३ ख ४७४३ नम्बरको कन्टेनरको चालक बस्ने सिटमा हाल नाम, थर, वतन नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ बकफरस्थित मरिण खोलाको बिचमा हाल नाम, थर, वतन नखुलेका पुरूषको शव बालुवामा गाडिएको अवस्थामा मंगलबार फेला परेको छ ।
यस्तै चितवन, भरतपुर महानगरपालिका-१७ गाँजिपुरस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

