नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।

आगामी २०७९ मंसिर ४ गतेका दिन प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति घोषणा भएसँगै नेपालको राजनीतिक सरगर्मी एकाएक बढेको छ । विभिन्न राजनीतिक दलहरूसँग आबद्ध मात्र होइन, स्वतन्त्रहरूले समेत आफूलाई उम्मेद्वारका रूपमा प्रस्तुत गर्न थालेका छन् । आकाङ्क्षीहरूको भीडमा काठमाडौं–६, बौद्ध निवासी राजनकुमार पोखरेल पनि सक्रिय हुन थालेका छन् ।
राजनकुमार पोखरेल द टिम्बर कर्पोरेशन नेपाल (टिसिएन) का पूर्व कर्मचारी हुन् । टिसिएनमा लामो समय काम गरेका पोखरेल वैचारिक रूपमा नेपाली काँग्रेस पार्टीसँग निकट रहेको बताउँछन् । पारिवारिक पृष्ठभूमि नै काँग्रेसी भएका पोखरेलले पार्टीको साधारण सदस्यता २०३६ सालमा लिएको र क्रियाशील सदस्यता ०५१ सालमा पाएको बताउँछन् । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसको संगठन विभागको केन्द्रीय उपप्रमुख रहेका पोखरेल काठमाडौं क्षेत्र नं. ३ का क्षेत्रीय प्रतिनिधिका रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।
सरल र शालीन व्यक्तित्वका धनी पोखरेल आफ्नो क्षेत्रमा लोकप्रिय मानिन्छन् । जनताको अप्ठ्यारो र असजिलोमा मलम–पट्टीको काम गर्ने उनी सबैप्रति सहयोगी भावना राख्दछन् । उनको यही समभावका कारण आफ्नो क्षेत्रमा सबैको मन जित्न पनि उनी सफल छन् । लायन्स क्लबलगायतका सामाजिक संघ–संस्थामा आबद्ध रहेर समाज सेवामा समर्पित रहेका पोखरेल यसपालिको चुनावमा पार्टीको तर्फबाट प्रदेशसभा सदस्यको टिकट पाउनेमा ढुक्क छन् ।
लामो समयदेखि नेपाली काँग्रेस पार्टीमा आबद्ध रहेर पार्टीले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक पालना गर्दै आएका पोखरेल पार्टीले आफूले गरेको कार्यको मूल्याङ्कन गरेर टिकट दिनेमा विश्वस्त हुँदै भन्छन् ‘पार्टीले विश्वास गरेर टिकट दिए सहजै जितेर देखाउने मात्र होइन, जितपछि पनि इमानदारपूर्वक जनताको सेवा गरेर पार्टीको छवि उठाउन सक्दो प्रयास गर्ने छु ।’

