नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । सप्तरी, राजबिराज नगरपालिका-४ गोरखाली टोलमा सोही ठाउँ बस्ने ४५ वर्षीय मंगलु दास शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-४ छापडाँडा बस्ने ४८ वर्षीया सानो कान्छी भोलन आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यता रोल्पा, सुनिलस्मृति गाउँपालिका-२ खुङ्ग्रीकोटस्थित खुङ्ग्री महिला सामुदायिक वनमा खुङ्ग्रीकोट बस्ने ७९ वर्षीया लक्ष्मी कुमारी सिंह शनिबार मृत अवस्थामा फेला परेकी छिन् । गत बुधबारदेखि घरबाट निस्किएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त वनमा उनको शव फेला परेको हो ।
यस्तै रामेछाप, मन्थली नगरपालिका-१४ स्थित खोल्सामा सोही ठाउँ बस्ने ५४ वर्षीय पञ्चलाल तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त खोल्सामा शव फेला परेको हो । यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-१३ धनगढीस्थित सडक छेउमा सोही उपमहानगरपालिका-१३ राजपुर बस्ने ३५ वर्षीय छिता राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी रुपन्देही, तिलोत्तमा नगरपालिका-१७ मुडियारीस्थित कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-४ धनुष सागरको पूर्वी किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष गएराति मृत अवस्थामा मृत फेला परेका छन् ।
यता पाल्पा, रामपुर नगरपालिका-५ मटेरी बस्ने ५५ वर्षीय मन बहादुर सुनार आफ्नै घर नजिक सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी महोत्तरी, पिपरा गाउँपालिका-१ ढेकहागाउँ बस्ने ४५ वर्षीय ओपिन्द्र महतो सोही ठाउँस्थित शिव मन्दिर नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धनकुटा, महालक्ष्मी नगरपालिका-५ स्थित लेगुवा खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय जिवन भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, बिर्तामोड नगरपालिका-५ पाथिभरा टोलस्थित पिपलको रुखको फेदमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मकवानपुर, बागमती गाउँपालिका-१ बोटगाउँस्थित राईगाउँ भित्री सडक छेउमा सोही ठाउँ बस्ने ५५ वर्षीया दम कुमारी राई शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

