
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर, सूर्यविनायक नगरपालिका-८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई गत साउन २५ गते जबरजस्ती करणी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका-४ नयाँठिमीबाट पक्राउ गरेको हो । त्यस्तै ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी, बेनी
नगरपालिका-४ हरियाली चोक बस्ने ४८ वर्षीय कमल घतानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरको छ ।
घतानेले ती बालिकालाई गत साउन ३१ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दर्जीले ती किशोरीलाई गत साउन २६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

