नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । नवलपरासी (पूर्व), मध्यविन्दु नगरपालिका-११ मजुवास्थित गोरेटो बाटोमा सोही नगरपालिका-११ खयरसाल बस्ने ४५ वर्षीय हेमन्त कुमाल बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै रोल्पा, माडी गाउँपालिका-३ तालावाङस्थित माछापोखरी नजिक टहरामा परिवर्तन गाउँपालिका-२ कम्वाङ बस्ने २५ वर्षीय दुर्गा बहादुर पुन र उनकै श्रीमती बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाको थप अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पा, इलाका प्रहरी कार्यालय घर्तिगाउँ र कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरबाट डग सहित प्रहरी टोली खटिएको छ ।
यस्तै कास्की, रुपा गाउँपालिका-६ चिसापानी बस्ने ५७ वर्षीय डिल बहादुर गुरुङ सोही ठाउँस्थित गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, कैलारी गाउँपालिका-९ सितलपुर बस्ने ४३ वर्षीया मनिसरा देवी पल्ली मगर आफ्नै घर नजिक खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी रौतहट, चन्द्रपुर नगरपालिका-४ लमाहा पुलस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

