नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (शनिबार) लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त प्रदेशका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

