पठाओको दशैं महोत्सव योजना

राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फूडम्यानहरूलाई लक्षित गरेर ‘दशैं महोत्सव २०७९’ को घोषणा गरेको छ । आन्तरिक रूपमा पठाओ नेपालसँग जोडिएका सहकर्मीहरूको सम्मान र प्रोत्साहनका लागि बडादशैं २०७९ लाई लक्षित गरेर योजना लागु गरिएको जनाइएको छ ।

पठाओ नेपालीकी प्रवक्ता सुरक्षा हमालका अनुसार पठाओको अग्र भागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदरस्वरूप भदौं २३ देखि असोज १२ सम्म तीन हप्ताका लागि यो महोत्सवको आयोजना गरिएको हो । उनका अनुसार तोकिएको प्रक्रिया पूरा गर्ने राइडर, क्याप्टेन र फूडम्यानहरूले लक्की ड्र अर्थात गोला प्रथामार्फत् हरेक हप्ता ३ जनाले टिभी, रेफ्रिजेरेटरलगायतका सामानहरू उपहारस्वरूप प्राप्त गर्न सक्नेछन् ।



प्रवक्ता हमालका अनुसार बम्पर उपहारस्वरूप लक्की ड्रमार्फत् छानिएका राइडर, क्याप्टेन र फूडम्यानहरूमध्ये २ जनालाई क्रमशः बजाजको २२० सीसी पल्सर बाइक र बजाजकै १२५ सीसीको डिस्कभर बाइक प्रदान गरिने छ ।

योजना लागू भएको तीनहप्ताभित्र प्रत्येक हप्ता ३-३ जना गरी नौजना र बम्पर उपहार २ जनालाई गरी जम्मा ११ जना भाग्यशाली उपहार विजेता हुन सक्नेछन् । उपहारहरू जित्नका लागि भने सम्बन्धित व्यक्तिले तोकिएका मापदण्ड र नियमहरूको पूर्ण पालना गरिएको हुनुपर्ने पनि प्रवक्ता हमालले जनाएकी छन् ।

सम्बन्धित समाचार