नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोटस्थित सडक पेटीमा ओखलढुंगा घर भएका ३६ वर्षीय राम बहादुर बस्नेत भन्ने व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१८ डाँडा गाउँ बस्ने ४५ वर्षीय नथुराम मैनाली आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी (पश्विम), सरावल गाउँपालिका-१ तुल्सीनगरस्थित थारु संग्रालय नजिकै रहेको पोखरीमा हाल नाम, थर, वतन नखुलेका करिब २० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै धनकुटा, साँगुढीगढी गाउँपालिका-५ मानेडाडा बस्ने ४४ वर्षीय बुद्धि बहादुर लिम्बु सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार मानेडाँडाबजार गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
त्यसैगरी रूपन्देही, तिलोत्तमा नगरपालिका-१५ सखुवानी गाउँ बस्ने ४२ वर्षीय जग्दिस चौधरी आफ्नै घरमा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रूपन्देही, मर्चवार गाउँपालिका-२ अमुवास्थित टिनको छानो भएको टहरा मुनि हाल वतन नखुलेकी जसोधरा बानिया भनिने करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यता सुनसरी, रामधुनी नगरपालिका-५ डग्राही पोखरीस्थित धान खेतमा हाल नाम, थर, वतन नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनुषा, शहिदनगर नगरपालिका-३ यदुकुवास्थित बाँसको झ्याङमा सोही ठाउँ बस्ने ३० वर्षीया बवितिया देवी दास मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

