मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु मेक्सिकोको पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस)ले ६.८ म्याग्निच्युड अनुमान गरेको छ । मिचोआकानमा सोमबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । मेक्सिको सिटीमा सयौँ किलोमिटर टाढा हजारौँ भवनमा क्षति पुर्‍याएको थियो । यस भूकम्पले आतङ्क फैलाएको थियो ।



स्थानीय समयानुसार बिहीबार बिहान १ः१६ प्रारम्भिक चेतावनी अलार्म बजेपछि मानिसहरूले आफ्नो घरहरू खाली गर्न थालेका थिए । मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले आधिकारिक हेलिकप्टरहरू सहरमा उडेको र कुनै पनि क्षतिको प्रारम्भिक रिपोर्ट नरहेको बताएका छन् । ‘भूकम्पपछि सहरमा अहिलेसम्म कुनै क्षति भएको छैन,’ उनले ट्विटमा उल्लेख गरेका छन् ।

राष्ट्रिय भूकम्प विज्ञान एजेन्सीकाअनुसार भूकम्प १२ किलोमिटर गहिराइमा परेको थियो, यद्यपि युएसजीएसले मेक्सिको सिटीबाट ४१० किलोमिटर टाढा रहेको २४ किलोमिटर गहिराइ रहेको अनुमान गरेको छ । सन् १९८५ र २०१७ मा गएको दुईवटा घातक भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा लाखौँ मानिसले आपत्कालीन अभ्यासमा भाग लिएको एक घण्टाभन्दा कम समयमै सोमबारको भूकम्प आएको थियो ।

मेक्सिकोमा सन् १९८५ सेप्टेम्बर १९ मा आएको ८.१ म्याग्निच्युडको भूकम्पले दश हजारभन्दा बढी मानिसको ज्यान गएको थियो र सयौँ भवनहरू ध्वस्त भएको थियो । त्यस्तै सन् २०१७ मा ७.१ म्याग्निच्युडको भूकम्पमा परी करिब तीन सय ७० व्यक्तिको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार