मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु, १० को उद्दार

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्दार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

मृतक राईको शव आधार शिविरबाट उद्दार गरेर काठमाडौँको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको उनले बताए । हिमपहिरामा परेका अन्य १० जनाको भने सकुशल उद्दार गरिएको प्रउ खनालले जानकारी दिए । सोमबार अबेरसम्म चार जनाको उद्दार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको उनले बताए ।



आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्दार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले जानकारी दिए। ‘सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ’, उनले भने, ‘उनीहरुको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।’

पहिरामा परी उद्दार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको उनले बताए । हिमपहिरामा परेकाहको उद्दारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो । रासस

सम्बन्धित समाचार