खोल्साले बगाएर दुई बालबालिकाको लियो ज्यान

नुवाकोटको ककनी गाउँपालिका वडा नं. १ स्थित ठूलोखोला नजिक रहेको सिमटारको खोल्साले दुई बच्चालाई बगाएको छ । ककनी गाउँपालिका वडा नं. २ मा स्थाई घर भएका शिवराम घिमिरे आफ्ना दुई बच्चा र श्रीमतीसहित विजयादशमीको टीका थाप्न ससुराली गएर घर फर्किने क्रममा ठूलोखोला नजिक सिमटारको खोल्सामा आएको खहरेको भेलले बच्चाहरूलाई बगाएको हो ।

बाढी आएको खोल्सामा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलको पछाडि रहेका आठ वर्षीया छोरी वेविशा घिमिरे र चार वर्षीय छोरा श्रीयन घिमिरेलाई खहरेको भेलले बगाएको जनाइएको छ ।



तीन दिनसम्मको अविरल वर्षका कारण उर्लेर आएको खहरे खोल्साले उक्त घटना घटाएको हो । स्थानीय र प्रहरी चौकीले खोजी कार्यलाई तीव्रता दिँदा छोरी वेविशालाई हिजो साँझ नै अचेत अवस्थामा फेला पारिएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको निजको पारिवारिक श्रोतले जनाएको छ ।

बाढीले बेपत्ता भएका छोरा श्रीयन घिमिरेको खोजतलास गर्दै जादाँ घटनास्थलबाट करिब तीन किलो मिटर टाढा खोलामा मृत अवस्थामा फेला परेको सिमटार प्रहरी चौकीले जनाएको छ ।

सम्बन्धित समाचार