जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान चार बजे जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले घर पुरिएको थियो ।

घर पहिरोले पुरिँदा सातै जनाको घटनास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । ‘बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबै जना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्’, उनले भने, ‘प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।’



जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घटनास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घटनास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताए । ‘हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो’, उनले भने, ‘साँझसम्म घटनास्थलमा पुग्ने आश गरेका छौँ ।’

सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताए । वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ ।

 

 

सम्बन्धित समाचार