नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ । ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ । अस्पतालले सोमबार अपराह्न एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको छ ।
आइतबारदेखि उहाँको छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि सघन उपचार कक्षमा राखी उपचार थालिएको छ । जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि १०३ वर्षीय जोशीलाई अस्पताल भर्ना गरिएको थियो ।

