अदालतद्वारा सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ४ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न म्याद दिएका हुन् ।

यसअघि उनलाई पहिलोपटक ७ दिन र दोस्रोपटक २७ असोजमा ५ दिन म्याद थप गरिएको थियो । गत असोज २० गते प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भएकोले आज ७ दिन म्याद मागेको थियो । सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको बताए ।



त्यस्तै न्यायाधीश दाहालले आइतबार प्रहरीलाई प्रतिवेदनसहित उपस्थित हुन भनिएको छ । लामिछाने विदेशमा नै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफू लामिछानेबाट बलात्कृत भएको प्रहरी समक्ष जाहेरी दिएकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए । आरोपित लामिछानेले भने आफू निर्दोष भएको बताइरहेका छन् ।

 

 

सम्बन्धित समाचार