नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कार्तिक ।
धर्मेन्द्र काजी श्रेष्ठको नेतृत्वमा विज्ञापन एजेन्सीहरुको नयाँ संगठन स्थापना भएको छ । शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को स्थापना गरिएको जानकारी दिइएको हो ।
विज्ञापन क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धा, कोरोना महामारीबाट आजित व्यवसायी तथा मुलुकको बिग्रदो आर्थिक अवस्थालाई दृष्टिगत गर्दै त्यस्ता विपत्तीबाट बच्न र बचाउन यस क्षेत्रमा लागेका एजेन्सी, विज्ञापनदाता, तथा सम्बन्धित सरोकार निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) स्थापना गरिएको नानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञापनदाता, सञ्चारमाध्यम, र उपभोक्ताबीच समन्वय गरी मध्यस्थताको रुपमा काम गर्दै प्रचार प्रसारसँग सम्बन्धित व्यवसायी (विज्ञापन एजेन्जी)लाई एकतावद्ध गरी व्यवसायिक हकहितको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले संघ स्थापना गरिएको शुक्रबार आयोजित घोषणा कार्यक्रममा जानकारी गराइयो ।
देशभरका विज्ञापन एजेन्सीहरुलाई एकत्रित गर्ने उद्देश्यले श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको महासचिव आशिष खड्काले बताए । समितिको प्रथम उपाध्यक्ष प्रदीप कोइराला, द्वितीय अध्यक्ष अमृत पन्थी र महासचिव आशिष खड्का छन् । त्यस्तै सचिवमा विमल खड्का, कोषाध्यक्षमा कमला पौडेल र सह कोषाध्यक्षमा वसन्त योगी रहेका छन् । साथै सदस्यमा रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य र गुन्जमणी भट्टराई रहेका छन् ।
अध्यक्ष श्रेष्ठले नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन व्यवसायी, मिडिया हाउसको हितमा काम गर्न नसकेकाले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) गठन गर्नु परेको बताए । ‘आनले अपेक्षाअनुसार काम गर्न सकेन, जसका कारण विज्ञापन व्यवसायी, सञ्चारमाध्यमहरूको प्रगति हुन सकेको छैन । यस्तो अवस्था चिर्न हामी नान गठन गर्न बाध्य भएका हौँ ’ श्रेष्ठले भने ।
गत असोज २८ गते दर्ता भएको नानमा विभिन्न ६७ वटा एजेन्सीहरू सदस्य बनिसकेको संघका महासचिव खड्काले जानकारी दिए । त्यस्तै संघले ‘मेरो मात्र नभई हामी र हाम्रो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै संघ गठन गरिएकाले सदस्य बन्न चाहने देशैभर छरिएर रहेका आम विज्ञापन एजेन्सीलाई सदस्य बन्न आह्वान समेत गरेको छ । यस्तै संघले पहुँच नपुगेका दूरदराजमा रहेका एजेन्सीहरुलाई पनि आवद्ध गराई उनीहरुको व्यवसायिक क्षमता अभिबृद्धिका कार्यक्रम अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ ।