
नेपाल वायुसेवा निगमले यात्रुलाई टिकट बेचेर अलपत्र पारेको घटना सेलाउन नपाउँदै आज (शुक्रबार) एयर अरवियाको जहाजले पनि यात्रुहरूलाई पुनः अलपत्र पारेको छ । बिहान ८ः१० बजे आबुधावीको जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरूले विमानस्थल पुगेपछि मात्र फ्लाइट क्यान्सिल भएको जानकारी पाए ।
एयर अरवियाले केही सीमित यात्रुलाई इमेलमार्फत् उडान रद्द भएको जानकारी गराएको भए पनि अधिकांश यात्रीहरू सूचनाको अभावमा निर्धारित समयमा विमानस्थल पुगेका थिए । घरबाट विदा भएर लगेजसहित विमानस्थल पुगेका यात्रुहरू ‘अब के गर्ने ?’ भनेर विलखबन्दमा परेका देखिन्थे ।
यथेष्ट पूर्व जानकारी नगराई उडान रद्द गर्नले आबुधावी हुँदै अन्यत्र जाने यात्रीहरू बढी प्रभावित भएका छन् । एयर अरवियाको लापर्वाहीका कारण उनीहरूको आबुधावीबाट लिङ्क जहाज सबै छुट्ने भएको छ । यसले धेरै यात्रुहरूलाई आकस्मिक रूपमा आर्थिक र मानसिक पीडा थपिदिएको छ ।
अनुगमन व्यवस्थित नभएका कारण विमान कम्पनीहरूको लापर्वाही बढिरहेको जानकारहरू बताउँछन् । लिङ्क जहाज छुटेर भएको क्षतिको पूर्ति कहाँबाट कसरी हुन्छ भन्नेमा सबै अनभिज्ञ देखिन्छन् ।

