नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कार्तिक ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । काठमाडौं, टोखा नगरपालिका-३ सूर्य दर्शन हाईटस्थित फुड किङ्ग दरबार रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भई टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय शेषमान तामाङ लगायत १० जना रहेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेका हुन् ।
उक्त रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई १ हजार दरको १ सय वटा क्वाइन, २ हजार दरको १ सय ४० वटा क्वाइन र ५ हजार दरको ५४ वटा क्वाइन समेत गरी जम्मा ३ सय ४ वटा क्वाइन र तास ३ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

