नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल आज

नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । आज (बुधबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ५:०० बजे सुरु हुनेछ ।

पाकिस्तान फिफाको प्रतिबन्धपछि करिब ३ वर्षपछि पहिलो पटक मैदानमा उत्रिएको हो । यद्यपि युरोपियन देशमा गएर पनि पाकिस्तानी खेलाडीले व्यक्तिगत रूपमा प्रदर्शको अवसर पाएका छन् । नेपाल पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा रहेको छ ।



प्रि-म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्ध जित निकाले योजना रहेको बताएका छन् । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो पटक अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । कटुवालले आफ्ना लागि राष्ट्रिय टिमलाई समाल्ने मौकालाई अवसरका रूपमा प्रयोग गर्ने बताए ।

त्यस्तै नेपालका कप्तान सम्हालेका रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्दी भएपछि जित निकाल्नेमा सबै खेलाडीको मनोबल उच्च रहेको भन्दै कप्तानको रूपमा पाएको अवसरलाई खुसीका रूपमा हेरेको बताए । उनले मैदानमा सबै खेलाडी कप्तान जस्तो रहेको भन्दै कप्तान भन्दा पनि नियमित रूपमा देशका लागि खेल्न पाउनुमा खुशी रहेको धारणा व्यक्त गरे ।

पाकिस्तान पनि नेपाललाई उसकै घरेलु मैदान हराउने योजनामा रहेको छ । पाकिस्तानका प्रशिक्षक सहजात अनवरले पाकिस्तानी फुटबल पछिल्लो समय संकटग्रस्त अवस्थाबाट गुज्रिएको भन्दै नेपालविरुद्ध राम्रो खेल पस्कनेमा आफू आशावादी रहेको प्रि-म्याच कन्फरेन्समा बताएका छन् । यता पाकिस्तानका कप्तान हसन बसिरले पाकिस्तान एक खराब अवस्थाबाट गुज्रिएको भन्दै नेपालविरुद्ध पाकिस्तान आफ्नो पुरानो विगत दोहोर्‍याउन मैदानमा उत्रने बताए । घरेलु दर्शकमाझ पाकिस्तानले राम्रो खेल पस्कने उनको दाबी छ ।

यस्तै पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो । हेड टु हेडमा हेर्ने हो भने नेपाल र पाकिस्तानबीच अहिलेसम्म कुल १६ खेल भएका छन् । जसमा नेपालले ४ खेलमा जित निकाल्दा पाकिस्तानले ७ खेलमा जित हासिल गरेको छ । दुई टिमबीच ५ पटक बराबरी भएको छ । पछिल्लो पटक २०१८ मा भएको साफ च्याम्पियनसिप भिडन्तमा पाकिस्तान २-१ ले विजयी भएको थियो ।

 

सम्बन्धित समाचार