दोस्रो एकदिवसीय खेलमा नेपाल विजयी

युएई ३ विकेटले पराजित

भ्रमणकारी टोली युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा घरेलु टोली नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो ।

काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४३ ओभर २ बलमा अलआउट हुँदै १९१ रनमा समेटिएको थियो । युएईका लागि मुहम्मद वासिमले ५० रनको अर्धशतकीय परी खेले अलिशन शराफुले ३५ रन बनाए । त्यस्तै भ्रित्य अरबिन्दले २५ रन बनाई आउट भए भने बसिल हामिदले २४ रन जोड्दा कप्तान सीपी रिजवानले २२ रन बनाए । नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले समान ३-३ विकेट लिए भने करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलको भागमा समान १-१ विकेट रह्यो ।



१९२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि गुलशन झाले सर्वाधिक ३७ रन बनाए भने कुशल भुर्तेलले ३५ रन जोडे । यस्तै आरिफ शेख ३३ र सोमपाल कामी १६ रनमा अविजित रहँदा ज्ञानेन्द्र मल्लले २६ र दीपेन्द्र सिंह ऐरीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । युएईका लागि रोहन मुस्तफाले ३ विकेट लिए भने हजरत बिलालले २ विकेट लिँदा बसिल हामिदको भागमा १ विकेट रह्यो ।

जितसँगै तीन खेलको सिरिजमा नेपालले १-१ को बराबरी गरेको छ । यसअघि भएको पहिलो एकदिवसीय खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।

सम्बन्धित समाचार