नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज (बिहीबार) राति १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुँदैछ । निर्वाचन आयोगले मंसिर १ गते राति १२ बजेदेखि स्थिर समय सुरु हुने जनाएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । बिहीबार मध्यरातदेखि राजनीतिक दलहरूको सम्पूर्ण प्रचारप्रसारमा निषेध गरिएको छ। यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नपाइने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताए ।
त्यस्तै मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ । स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुँदैन ।
यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’चेतावनी दिइएको छ ।
के–के गर्न पाइँदैन?
स्थिर अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाउनु पर्नेछ ।
स्थिर अवधिअगावै उम्मेदवारले एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइदैन । यसैगरी अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर नगर्न आयोगले अनुरोध गरेको छ ।
यसैगरी बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द हुनेछन् स्थिर अवधि सुरु भएसँगै मदिरा बिक्री तथा वितरणमा पनि रोक लगाइने भएको छ । गत बुधबार नै आयोगले मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ ।