नवकान्तिपुर संवाददाता
काठमाडौं, २ मंसिर ।
युएईविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली नेपालले जितेको छ । शुक्रबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा पाहुना टोली युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले २-१ ले सिरिज आफ्नो पक्षमा पारेको हो ।
काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनायो । युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले भने अलिशन शराफुले ३३ रन बनाए । त्यस्तै रोहन मुस्तफाले २४ रन बनाई आउट भए भने हजरत बिलाल २० रनमा अविजित रहे । ९३ रन जोड्दा महत्वपूर्ण ९ विकेट गुमाएको युएईको पारी आयन र हजरतले अन्तिम विकेटका अविजि रहँदै ८३ रनको साझेदारी गरे । नेपालका लागि गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २-२ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीको भागमा समान १-१ विकेट रह्यो ।
१७७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै क्रमश: ८८ र ६४ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेल १० रनमा बनाई आउट भए भने अर्जुन साउदले ९ रन जोडे । युएईको लागि आयन अफजल खान र हजरत बिलालले समान १-१ विकेट लिए ।
यी दुई टोलीबीचको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो ।