विश्वकप फुटबलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स विजयी हुँदा अमेरिका र वेल्सले बराबरी खेले

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा इंग्ल्यान्ड र नेदरल्यान्ड्स विजयी हुँदा अमेरिका र वेल्सले बराबरी खेलेक छन् । सोमबार राति भएको पहिलो खेलमा इंग्ल्यान्डले इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दा नेदरल्यान्ड्सले सेनेगललाई २-० ले पराजित गर्यो भने अमेरिका र वेल्सले १-१ गोलको बराबरी खेले ।

कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको एकतर्फी खेलमा इंग्ल्यान्डको लागि बुकायो साकाले दुई गोल गरे भने जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले समान १-१ गोल गरे । यता इरानका लागि मेहदी तारेमीले दुई गोल गरे ।



इंग्ल्यान्ड

खेलको ३५ औं मिनेटमा वेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४४ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । यस्तै पहिलो हाफको इन्जुरी समयमा स्ट्रर्लिङले गोल मार्फत पहिलो हाफमा इंग्ल्यान्ड ३-० ले अघि रह्यो ।त्यसैगरी खेलको ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को अग्रता दिलाए ।

तर खेलको ६५ औं मिनेटमा इरानका तारेमीले गोल गर्दै खेललाई ४-१ को स्थितिमा ल्याए । खेलको ७१ औं मिनेटमा राषफोर्डले गोल मार्फत इंग्ल्यान्ड ५-१ ले अघि रह्यो । यस्तै खेलको ९० औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ६-१ को अग्रता दिलाए । यता इरानको लागि दोस्रो हाफको इन्जुरी समयमा तारेमीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपनि त्यो ढिलो भइसकेको थियो र खेल इंग्ल्यान्डले ६-२ ले आफ्नो पक्षमा पार्यो । जितसँगै समूह ‘बी’ को इंग्ल्यान्ड ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने इरानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।

नेदरल्यान्ड्स

त्यसैगरी सोमबार राति नै भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० ले पराजित गर्दै विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ ।कतारको दोहास्थित अल थुमामा स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सको लागि कोडी गाक्पो र डाभी क्लासेनले समान १-१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले उत्कृष्ट पुनरागमन गर्दै २ गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनले फ्रान्की डी जोङको पासमा हेडमार्फत उत्कृष्ट गोल गरेका हुन् ।त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को सहज जित दिलाए । जितसँगै समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा छ भने सेनेगलले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।

वेल्स

यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबलमा अमेरिका र वेल्सले भने १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ८२ औं मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । जसमा बेलले गोल गरे ।

त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकिदै दुवै टोलीले अंक बाँडे । बराबरीसँगै समूह ‘बी’ मा रहेका वेल्स अमेरिका समान १-१ अंक सहित क्रमश:तेस्रो र दोस्रो स्थानमा रहेका छन् ।

सम्बन्धित समाचार