नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । अछाम, पञ्चदेवल विनायक नगरपालिका-६ केतुकाना बस्ने ६० वर्षीय जोरा सिंह थापा मगर सोही ठाउँस्थित बनजारी भन्ने स्थानमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै भोजपुर, रामप्रसादराई गाउँपालिका-५ गडा गाउँ बस्ने ५३ वर्षीया यसोधा खत्री सोही ठाउँस्थित मकुवा खोलामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट आफूखुसी हिँडेकी उनी घर फर्किनआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो ।
यस्तै कालिकोट, नरहरिनाथ गाउँपालिका-२ चौथीकोट बस्ने ४७ वर्षीय कर्ण बिष्ट सोही ठाउँस्थित बुढीओडार खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । गत बिहीबारदेखि घरबाट हराएका उनको उक्त खोलामा शव फेला परेको हो । यता बैतडी, पाटन नगरपालिका-३ बंगडा बस्ने अन्तराम बिष्टको ९ वर्षीय छोरा मोहन बिष्ट आफ्नै घरआँगन अगाडि केराको थाम नजिकै आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काभ्रे, पाचँखाल नगरपालिका-२ ज्यामिरेकोट बस्ने ५६ वर्षीय कृष्ण प्रसाद मिश्र सोही ठाउँस्थित भित्री सडक छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी कास्की, अन्नपूर्ण गाउँपालिका-९ बिरेठाटी बस्ने ३२ वर्षीय सुनिल गुरुङ सोही ठाउँस्थित सार्की खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

