नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिना पराजित हुँदा फ्रान्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले स्तब्ध हुन पुग्र्यो भने सविज विजेता फ्रान्सले अष्ट्रेलियालाई ४-१ को फराकिलो अन्तरले पराजित गर्यो ।
यसैगरी मंगलबार राति भएको अन्य खेलमा डेनमार्क र ट्युनिसियाले तथा पोल्याण्ड र मेक्सिकोले गोलरहित बराबरी खेलेका छन् । कतारको लुसाइल स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १० औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यस्तै खेलको २८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए ।
पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा साउदी अरेबियाले उत्कृष्ट पुनरागमन गर्दै २ गोल गर्यो । खेलको ४९ औं मिनेटमा साउदी अरेबियाका सलेह अल शेहरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले गोल गर्दै साउदी अरेबियालाई २-१ को जित दिलाए । जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने अर्जेन्टिना पुछारमा रहेको छ । हारसँगै अर्जेन्टिनाले विश्वकप सुरुवात गरेको छ । त्यस्तै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा समेत टुंगिएको छ ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा अन्तर्गत नै हिजो राति भएको अर्को खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको दोहाको एजुकेसन सिटी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने मौका सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
बराबरीसँगै समूह ‘डी’ ट्युनिसियाले १ अंक जोड्दै शीर्ष स्थानमा छ डेनमार्क पनि समान १ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । त्यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार राति भएको अर्को खेलमा पोल्याण्ड र मेक्सिकोले पनि गोलरहित बराबरी खेलेका छन् ।
कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न नसक्दा पोल्याण्डले मेक्सिकोसँग अंक बाँड्न बाध्य भयो । खेलको ५८ औं मिनेटमा लेवान्डोस्की पेनाल्टीमा गोल गर्न असफल भए । उनको प्रहार मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले बचाए ।
बराबरीसँगै समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा छ भने समान १ अंक जोडेको मेक्सिको तेस्रो स्थानमा रहेको छ । यसैगरी साविक विजेता फ्रान्सले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । कतारको दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको चौथों खेलमा अष्ट्रेलियामाथि ४-१ को सानदार जित निकालेको हो ।
फ्रान्सलाई जित दिलाउन ओलिभर जेरुडले दुई गोल गरे भने एड्रिन राबिओट र केलियन एमबाप्पेले समान १-१ गोल गरे । यता अष्ट्रेलियाका क्रेग गुडविनले सान्त्वना गोल गरे । यद्यपि खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा फ्रान्सका एड्रिनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको ३२ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।
यस्तै खेलको ६८ औं मिनेटमा एमबाप्पेको गोल मार्फत फ्रान्स ३-१ ले अघि रह्यो । त्यसपछि खेलको ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४-१ को फराकिलो जित दिलाए । जितसँगै समूह ‘डी’ को फ्रान्स ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने हारबाट विश्वकपको सुरुआत गरेको अष्ट्रेलिया पुछारमा रहेको छ ।
आज ४ खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को समन २-२ खेल हुनेछन् । पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसिया नेपाली समय अनुसार दिउँसो ३:४५ बजे, समूह ‘ई’ मा रहेको जर्मनी र जापान साँझ ६:४५ बजे, स्पेन र कोस्टारिका राति ९:४५ बजे र समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडा राति १२:४५ बजे खेल्दै छन् ।