प्रकाश पौड्याल
काठमाडौं, १० मंसिर ।
चुनावी परिणाम् अन्त्यतिर पुग्दै गर्दा ठूला भनिएका दलका नेतृत्वको अनुहार हेर्नलायक देखिएको छ । चुनावअगाडि बढो फूर्ति लगाउनेहरू अहिले भित्रभित्रै लत्र्याक लुत्रुक बनेका छन् । तर पनि आवरणमा भने पराजयको आरोप अरूलाई लगाउँदै आफू पानी माथिको ओभानो बन्न खोज्दैछन् । यो उनीहरूको पदलोलुपताको पराकाष्ठा हो ।
चुनावअघिसम्म स्वतन्त्रहरू वा स्वतन्त्र पार्टीले एक सिट पनि जित्न सक्तैन भनेर कुर्लने नव महाराजहरू मतगणना आरम्भ भएपछि स्वतन्त्र र युवाहरूप्रतिको जनउभार देखेर छक्क परेका छन् र हिजो आफूले बोलेको कुराको प्रतिरक्षा गर्न आजभोलि मतदाताहरूलाई नै व्यङ्ग्य गर्दै बर्बराउन थालेका छन् । जनताको परिवर्तनको चाहनालाई होच्याउने वा कुतर्क गर्ने छुट कसैलाई पनि छैन । हिजो आफ्ना पक्षमा जनउभार बढ्दा जनइच्छालाई ‘महान्’ देख्नेले आफू वा आफ्नो पार्टी पराजित हुँदा पनि परिवर्तन चाहना राख्ने जनमतलाई ‘महान्’ देख्न सक्नुपथ्र्यो तर दलका नेतृत्वले त्यो संयमित संस्कार देखाउन सकेनन् ।
अपवादलाई छोडेर अहिले मतदाताले देखाएको ‘नयाँ’ प्रतिको आकर्षण पुराना वा परम्परावादी नेता, नेतृत्व र उनीहरूको कार्यशैलीको साङ्केतिक विरोध गर्नु र नयाँप्रति आशावादी बन्नुको परिणाम् हो । यो जनमत वर्षौंदेखि जनतालाई लगातार ढाँट्तै आएका अहङ्कारवादी र नयाँ तानाशाहा बन्न खोज्नेहरूप्रतिको राजनैतिक प्रतिकार हो । जसले सत्तामा पुर्यायो, ऊसँग सत्ताबाट गलत्याउने अधिकार पनि सन्निहित हुन्छ, परिवर्तनकामी जनताले आंशिक रूपमा भए पनि त्यही अधिकार प्रयोग गरेर देखाइदिए ।
जनमत पक्कै पनि युवाप्रति र नयाँप्रति आशावादी देखिएको छ । नयाँको परीक्षण हुन बाँकी छ तर जनतालाई जनार्दन मान्ने हो भने जनादेशलाई शिरोधार्य गर्नुको विकल्प छैन । जनमतले पुराना दलका पटक पटक परीक्षण भएका पुराना अनुहारलाई राजनीतिको मूल धारबाट विश्राम गराउन खोजेकै हो, समयको यस आहटलाई उनीहरूले बुझ्नुपर्छ । पुरानाहरू जो जो पुनः जनताबाट अनुमोदित भएर आए, उनीहरूले युगको मौन सन्देशलाई बुझेर नयाँलाई स्वागत गर्दै सत्ताको बागडोर हस्तान्तरण गरेर आफू अभिभावकीय भूमिकामा बस्नु समीचीन देखिन्छ । यो नै राजनीतिक संस्कार र समयको माग दुबै हो ।