एलपी पौड्याल
काठमाडौं, १५ मंसिर ।
घात, अन्तर्घात र प्रतिघातको बक्र बाटो हुँदै गतिशील नेपालको राजनीतिमा पुनः कहीं कतै त्यस्तै परिघटनाको पुनरावृत्ति भएमा अचम्म नमाने हुन्छ । इतिहासका विभिन्न कालखण्डहरूमा नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपाआदि पार्टीको जीवनमा यस्ता घटनाहरू पटक पटक दोहोरिएका छन् । घात, अन्तर्घात र प्रतिघातको खेलमा यी पार्टीहरूका नेतृत्व वर्गले लामै अनुभव हासिल गरेका छन् । बेला बेला आउने उनीहरूका प्रतिक्रियाले चाहिँ के जनाउँछ भने– घात वा अन्तर्घात पनि आफूले गर्दा चाहिँ ‘उचित’ लाग्ने र अरूले गर्दा चाहिँ ‘अक्षम्य’ लाग्ने गर्दोरहेछ ।
घरमा परिवारभित्रको मान्छेभन्दा छिमेकी विश्वासिलो लाग्न थालेपछि त्यो घर घर रहन्न । पार्टीमा पनि त्यस्तै हुने हो । कुनै स्वार्थबाट अभिपे्ररित भएर पार्टीभित्रका आन्तरिक कुराहरू जब आफ्नै पार्टीका साथीहरूसँग लुकाएर अर्को पार्टीका नेतालाई नजिक ठानेर भन्न थालिन्छ भने त्यो पार्टी पनि पार्टी रहँदैन । जब कुनै पार्टीको नेतृत्व अहङ्कारी र दम्भी बन्दै जान्छ, तब ऊ आफ्नालाई भन्दा अरूलाई विश्वासी र नजिक देख्न थाल्छ अनि जसले उसलाई हिजो त्यो स्थानमा पुर्यायो, ऊ उसैमाथि षडयन्त्र रच्न थाल्छ ।
नेपालका सबैजसो पार्टीको अवस्था यस्तै छ । यसपालिको चुनावले पनि यस कुरालाई पुष्टि गरिसकेको छ भने अब सरकार बनाउने खेलमा अझ प्रखर रूपमा प्रकट हुनेवाला छ । आफ्नो अनुकूल स्वार्थसिद्ध गर्नका लागि अँध्यारो कोठामा खेलिने खेलका लागि काङ्ग्रेस, एमाले र माओवादी तीनै पार्टीका नेतृत्व कोहीभन्दा कोही कम छैनन् । त्यसैले उनीहरू देशको हितमा भन्दा पनि आफ्नो हितमा निर्णय गर्ने गराउने गर्छन् । उनीहरूले गर्ने सिद्धान्तका कुरा त मिडियाका लागि दिइने खुराक मात्र हुन् ।
सिद्धान्तकै कुरा गर्ने हो भने काङ्ग्रेस र माओवादी तथा एमाले र राप्रपा कुन सैद्धान्तिक आधारमा चुनावी गठबन्धनमा सामेल भए त ? तर स्वार्थ मिलेपछि दुई विपरीत ध्रुवहरू पनि सँगै बसेर ककटेल खान सक्तारहेछन् ।
नेतृत्वको यही सोच हावी हुँदा अहिलेको यो चुनावी परिणाम् आएको हो । यस चुनावी अङ्कगणितले काङ्ग्रेस, एमाले र माओवादीलाई पहिलो, दोस्रो र तेस्रो दलका रूपमा देखाए पनि यथार्थमा तीनवटै दलको हार हो । जुन दिन शीर्ष नेताहरूले काङ्ग्रेस र माओवादी गठबन्धन गरेर चुनावमा जाने निर्णय गरे, त्यही दिन दुबै दलले सार्वजनिक रूपमा हार स्वीकार गरेका हुन् । सिद्धान्त, विचार, दृष्टिकोण र गन्तव्य केही नमिल्ने दलसँग गठबन्धन गर्नु केवल पराजित मानसिकताको उपज मात्र हो अथवा आफ्नो सिट सुरक्षित गर्ने कुत्सीत खेल मात्र हो ।
यस निर्वाचनमा गर्व गर्न लायक जित भनेको रवि लामिछानेको मात्र हो । चार महिनाअगाडि पार्टी दर्ता गरेर उनले राष्ट्रिय राजनीतिमा जुन स्थान बनाए, त्यो जनताको परिवर्तनको चाहना र पुराना दलहरूप्रतिको आक्रोस दुबैको परिणाम् हो । कुनै कुनै दलका नेताले रविको जितलाई सहज रूपमा लिन नसकेर अन्टसन्ट बोलेको पनि सुनियो तर परिणाम्मा त रविले ऐतिहासिक फड्को मारेकै हो । जनमतले उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमाथि गरेको आशा र विश्वासलाई रविको कार्य कुसलताले कति बचाउन सक्छन् वा सक्तैनन् भन्ने कुरा उनका गुण र दोषका आधारमा भोलिका दिनमा गरिने समीक्षाको विषय बन्ला तर वर्तमानले भने नेपाली जनताले उनीबाट धेरै आशा गरेका छन् ।
एमालेबाट बाक्लो दाल खान टुक्रिएको माधव नेपालको एकीकृत समाजवादीले राष्ट्रिय दलको भार बहन गर्न नसकिरहेको अवस्थामा राप्रपा राष्ट्रिय पार्टी बन्न पुग्यो । राजेन्द्र लिङ्देनको नेतृत्वमा गतिशील राप्रपाको संसदमा अब हुने गरिमामय उपस्थितिले लिङ्देनको कदलाई थप बढाइदिएको छ । सैद्धान्तिक आधार अरूको भन्दा पृथक भए पनि उनको नेतृत्वलाई जनमतले रूचाएको नै पाइयो ।
रवि, लिङ्देन, सिके राउत आदिले पाएको मतको आधार उनीहरूले उठाएको एजेण्डाको भन्दा पनि व्यक्तिप्रतिको विश्वासको हो, परिवर्तनको चाहनाको हो । अब देउवा, ओली वा प्रचण्डले मुलुकमा के नै चमत्कार देखाउन बाँकी छ र ? तर पनि संसदीय अङ्कगणितको खेलले यीमध्ये कोही मुलुकको कार्यकारी पदमा पुगे भने त्यो उनीहरूको व्यक्तिगत सफलताको विषय बन्ला तर देशको हार हुनेछ । जनमतले व्यक्तिको परिवर्तन मात्र होइन, अवस्थाको परिवर्तन पनि खोजेको छ । अवस्थाको परिवर्तन गर्ने हो भने अथवा समृद्धशाली मुलुकको परिकल्पना गर्ने हो भने अब आशालाग्दा युवालाई नेतृत्व तहमा पुर्याउनुको विकल्प छैन । पुरातन सोच यसको बाधक बन्छ भने युवा सांसदहरूले ससम्मान उनीहरूलाई समृद्धिको मार्गबाट हटाउने साहस पनि जुटाउन सक्नुपर्छ ।