मोरक्को र पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

मोरक्को र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको राउण्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले र पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ ले पराजित गरेको हो ।

कतारको एजुकेसन सिटी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलमा पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका केही राम्रा अवसर सदुपयोग गर्न असफल हुँदा खेल गोलरहित बराबरीमा सकिएको हो ।



मोरक्को

मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले पेनाल्टीमा गोल गर्दा बदर बेनोनको पेनाल्टी भने स्पेनका गोलकिपर युनाई सिमोनले रोकेका थिए । यता स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्सले भने पेनाल्टीमा गोल गर्न असफल रहे । सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले विफल पार्दा सराबियाको प्रहार पोस्टमा लागेको थियो । जितसँगै मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ । पूर्व विजेता स्पेन भने प्रि क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

त्यसैगरी मंगलबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्दै पोर्चुगल अन्तिम आठमा पुगेको छ । पोर्चुगललाई सानदार जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गर्दा पेपे, राफायल गुइरेरो र राफायल लियोले समान १-१ गोल गरे भने स्विट्जरल्यान्डका लागि मानुएल एकान्जीले एक गोल फर्काए ।

कतारको लुसिल स्टेडियममा भएको एकतर्फी खेलमा खेलको १७ औं मिनेटमा जोआ फेलिक्सको पासमा रामोसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले ब्रुनो फर्नान्डेसमा पासमा हेडरमार्फत गोल गरेका थिए । पहिलो हाफ २-० मा सकिएको खेलमा खेलको ५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो ।

यस्तै खेलको ५५ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाए । तर खेलको ५८ औं मिनेटमा स्विट्जरल्यान्डका एकान्जीले गोल गर्दै खेललाई ४-१ को स्थितिमा ल्याए । खेलको ६७ औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्ने क्रममा गोल गर्दा पोर्चुगल ५-१ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा सब्सिच्युडको रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६-१ को सानदार जित दिलाए । रामोस कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

पोर्चुगल

अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ । स्पेनलाई पराजित गर्दै मोराक्को अन्तिम आठमा पुगिसकेको छ भने स्विट्जरल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबारको खेलसँगै कतारक विश्वकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ भने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स, तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

 

सम्बन्धित समाचार