नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ मंसिर
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको हो ।
नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा विकेट गुमाउँदै २७५ बनाएको थियो । नामिबियाका लागि मिचेल भान लिङ्गेनले ११९ रनको शतकीय पारी खेले भने कप्तान ग्रहार्ड इरास्मसले अर्धशतकीय इनिङ खेल्दै ५३ रन बनाए । त्यस्तै जान निकोल ४० रन बनाई आउट भए भने डेभेन ला ककले १८ रन जोडे । नेपालका लागि ललित नारायन राजवंशीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिँदा सागर ढकालको भागमा १ विकेट रह्यो ।
२७६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ४६.५ ओभरमा १८९ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४४ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३४ रन जोडे । यस्तै ज्ञानेन्द्र मल्ल ३० रन बनाई आउट भए भने अर्जुन साउदले २९, आरिफ शेखले १८ र ललित राजवंशीले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २-२ विकेट लिए ।
नामिबियामा जारी सिरिजमा पहिलो खेलमा वर्षाका कारण नामिबियासँग अङ्क बाँडेको नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो। ७ टोली सहभागी विश्वकप लिग-२ मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छभने नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ । यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । सिरिज अन्तर्गत नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्नेछ ।