क्रोएसिया र अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा, आज क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै

क्रोएसिया र अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले र दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको हो ।

कतारको एजुकेसन सिटी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा दुवै टोलीले समान १-१ गोल गर्दै बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।



क्रोएसिया

पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे भने ब्राजिलका क्यासिमेरो र पेड्रोले मात्र पेनाल्टीमा गोल गर्न सफल भए । रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न असफल रहे । रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिचले बचाउ गरेका थिए भने मार्क्विन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो ।

त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समय (१०५+१ औं) मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । ब्राजिलका लागि नेयमार र पेलेले समान ७७-७७ गोल गरेका छन् । यता अतिरिक्त समयको ११७ औं मिनेटमा क्रोएसिया ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । हारसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । क्रोएसियाले भने सेमिफाइनलमा प्रवेश गरेको छ । अब फाइनल प्रवेश गर्न क्रोएसियाले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिल

त्यसैगरी अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

कतारको लुसाइल स्टेडियममा भएको निकै रोमान्चक खेलमा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्दा एन्जो फर्नान्डेज पेनाल्टीमा गोल गर्न असफल रहे ।

अर्जेन्टिना

यता पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गर्दा भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न सकेनन्। त्यसअघि खेलको ३५ औं मिनेटमा नहुएल मोलिनाले मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

तर खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका नेदरल्यान्ड्सका वोउट वेघोर्स्टले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएको थियो । अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनल प्रवेश गरिसकेको छ ।

नेदरल्यान्ड्स

क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (शनिबार) क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ भने राति १२:४५ बजे अन्तिम तथा चौथों क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड भिड्दै छन् । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पराजित गरेको थियो भने पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो । यता फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो भने इंग्ल्यान्डले सेनेगललाई पराजित गरेको थियो ।

सम्बन्धित समाचार