नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-५ कल्याणपुर डेरा गरी बस्ने पर्सा जगतनाथपुर गाउँपालिका-५ घर भएका २५ वर्षीय मुखलाल मुखिया आफ्नो सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-३ आलेगाँउ बस्ने ६४ वर्षीय बिष्णु आले र उनकी श्रीमती ६० वर्षीया निरमाया आले आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रे, भुम्लु गाउँपालिका-७ उग्रेनीघाटस्थित सुनकोशी नदीको किनारमा पाचँखाल नगरपालिका-१० रानिपानी बस्ने ७९ वर्षीय खडा नन्द पराजुली सोमबार मृत अवस्थामा फेला परेका छन् ।
आइतबार दिउँसो काठमाडौं जडिबुटीबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फलाटेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस्तै झापा, मेचीनगर नगरपालिका-६ बस्ने ३५ वर्षीया सानु कार्कीको २ महिनाको छोरी रोशनी कार्की सोमबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

