अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

२८ अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले २ गोल गरे भने कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो । दोहाको लुसेल रंगशालामा भएको एकतर्फी खेलमा खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।



क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई डिबक्स भित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । विश्वकपमा मेस्सीको अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल समेत हो । यसअघि गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान समेत मेस्सीले तोडेका छन् ।

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

त्यस्तै मेस्सीले अर्जेन्टिनाका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको विश्वकपमा २५ खेलको कीर्तिमान समेत बराबरी गरेका छन् ।यस्तै खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । उनले काउन्टर याट्याकमा गोल गरेका हुन् । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा अर्जेन्टिनाले थप एक गोल गर्यो ।

खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए । उनले मेस्सीले असिस्ट गरेको बललाई जाली चुमाएका थिए । अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । हारसँगै क्रोएसियाको विश्वकपबाट बाहिरिएको छ । जितसँगै अर्जेन्टिनाले यसअघि २०१८ को विश्वकपमा समूहचरणमा क्रोएसियासँग ३-० लेनै हारेको खेलको बदला समेत लिएको छ । फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल आज (बुधबार) राति हुनेछ ।

सम्बन्धित समाचार