मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सिरहा, कर्जन्हा नगरपालिका-१० स्थित उदयपुर र सिरहा जिल्लाको सीमानास्थित जंगलमा मिर्चैया नगरपालिका-२ मलनिया बस्ने ३० वर्षीया लक्ष्मीनिया कापर मंगलबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।

घाँटी र पेटमा धारिलो हतियारको चोट जस्तो देखिएको अवस्थामा महिलाको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मिर्चौयाबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।



त्यस्तै खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ ओखरबोटे बस्ने ६४ वर्षीय भिम कुमारी दाहाल सोही ठाउँ ओखरबोटे चौरस्थित रुखको फेदमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । बाख्रा चराउन भनी गएकी उनी बेलुकासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

यस्तै कैलाली, कैलारी गाउँपालिका-१ हसुलियास्थित दिपेन्द्र माध्यमिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत सोही ठाउँ बस्ने ५६ वर्षीय खुसीराम चौधरी सोही विद्यालयको प्राङगणमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता बर्दिया, बारबर्दिया नगरपालिका-१० लम्कीफाँटास्थित नालीमा सोही ठाउँ बस्ने ५१ वर्षीय मन्कु थारु मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार