सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि बा.५ ख ५६२२ नम्बरको बसको ठक्करबाट पैदलयात्री काभ्रे घर काठमाण्डौं सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रन्जितकारको शुक्रबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको के.एम.सी.अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सर्लाही, ब्रहम्पुरी गाउँपालिका-३ स्थित सडकमा ज.२ त ५२७ नम्बरको ट्याक्टरले बीआर ३० भी १६७३ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार महोत्तरी इटहरवाकट्टी-७ बस्ने ५७ वर्षीय सुरेन्द्र मण्डलको मृत्यु भएको छ ।



ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा हनुमान चोकमा ग.२ च २६८४ नम्बरको जिप आफै अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किएर गएराति दुर्घटनामा हुँदा जिपमा सवार तनहुँ घर भई हाल पोखरा महानगरपालिका-१० शिवचोक बस्ने ३७ वर्षीया बसन्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका म्याग्दी मङ्गला गाउँपालिका-१ मजुला बस्ने ४७ वर्षीय गजेन्द्र पुनलाई उपचारका लागि सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता कञ्चनपुर, बेदकोट नगरपालिका-७ स्थित सडकमा ना.७ ख ६५२१ नम्बरको बसले साइकललाई शुक्रबार बिहान ठक्कर दिँदा सोही नगरपालिका-७ सिसैया बस्ने २२ वर्षीय कविराज बैजको मृत्यु भएको छ । ठक्कर दिँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी तनहुँ, म्याग्दे गाउँपालिका-६ अकलामा ग.१ ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बिहीबार दिउँसो दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइते मध्ये जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार पश्चात ८ जना डिस्चार्ज भएका छन् भने थप उपचारका लागि ७ जनालाई पुरानो मेडिकल कलेज भरतपुर चितवन र ७ जना मेट्रोसिटी अस्पताल पोखरा रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार