नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ पुस ।
नेपालमा आज (बुधबार) सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार २०० रहेकोमा मंगलबार रु १ लाख ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७०० रहेकामा मंगलबार प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै एक हजार ४०० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८१३.०५ डलरमा कारोबार भइरहेको छ ।