बुटवलका डीएसपी केसी ३५ तोला सुन र २५ लाख रुपैयाँसहित पक्राउ

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो ।

केसीको निवासबाट प्रहरी टोलीले ३५ तोला सुन २५ लाख रुपैयाँ र चेक पनि बरामद गरेको छ । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा उक्त सामान बरामद गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सीआईबीले अनुसन्धान थालेको थियो।



केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग रकम मागेको सूचना पाएपछि सीआईबीले छानबिन गरेको थियो । उनले व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।

सम्बन्धित समाचार