नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशको प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

