नवकान्तिपुर संवाददाता
काठमाडौं, २ माघ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ आरुबारी बस्ने दावा शेर्पाको घरमा उनकै सालो नाता पर्ने दोलखा जिरी नगरपालिका-१ घर भएका ५६ वर्षीय आङखुरी शेर्पा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सुनसरी, इनरुवा नगरपालिका-४ हनुमान चोकस्थित सायरको रुखमुनि चितवन नारायणघाट घर भएका ५५ वर्षीय कृष्ण परियार शनिबार मृत अवस्थामा फेला परेका छन् । यता धनुषा, शहीदनगर नगरपालिका-९ बस्ने ६८ वर्षीय चन्दर मगरैईत यादव सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-१ आँखुखोला नदी किनारमा सोही गाउँपालिका-१ रानीपौवा बस्ने ३७ वर्षीय अर्जुन गिरी आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धादिङ,थाक्रे गाउँपालिका-१ एक्लेफाँटस्थित महाबीर होटलमा काम गरी बस्ने काठमाडौं टिकाभैरव घर बताउने ७५ वर्षीय रामकृष्ण सापकोटा आफू सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुरस्थित कल्बट नजिकै सोही नगरपालिका-१ सिंहबाहिनी बस्ने ७१ वर्षीय ललराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, रत्ननगर नगरपालिका-७ सौराहास्थित थारु टिपिकल लजको कोठामा कास्की पोखरा महानगरपालिका-३० बस्ने ३५ वर्षीय अमित ताम्राकार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी पर्वत, जलजला गाउँपालिका-८ लस्तीस्थित कालीगण्डकी नदीको बिच भागमा सोही गाउँपालिका-७ लस्ती बस्ने ३० वर्षीय धने परियार आइतबार मृत अवस्थामा फेला परेका छन् । उता मोरङ, ग्रामथान गाउँपालिका-१ बाघमाराखापस्थित सिंगिया खोलाको छेउ किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।