अनाम शर्मा
काठमाडौं, ७ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पछिल्लो समयमा नेपाली जनताले आशा र भसोसा गरिएका व्यक्तित्वहरू हुन् । वैचारिक धरातल फरक भए पनि दुबै आँटिला, जाँगरिला, आर्थिक अपराधको दाग नलागेका र देशका लागि नयाँ केही गर्न सक्ने सम्भावना बोकेका व्यक्तिहरू पनि हुन् । उनीहरू संसदभित्र छिर्दै गर्दा धेरै नेपाली मनहरूले अब केही होला, आफ्नै पालामा केही परिवर्तनको प्रत्याभूति गर्न सकिएला कि भनेर एक दुई टुक्रा सपना पालेका पनि थिए तर दुबैले विवादित र स्वार्थ बाझिने व्यक्तिलाई मन्त्रीका रूपमा छनौट गरिदिँदा उनीहरूमाथिको विश्वास डगमगाएको छ । लामिछाने र लिङ्देनको बोली र व्यवहारमा फरक भएकोे भन्दै मिडिया र सामाजिक सञ्जालमा तीव्र आलोचना आरम्भ भएको छ ।
निर्वाचनपछिको मतगणना जारीरहेका बेला लामिछाने र लिङ्देनले आ–आफ्ना प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले अगुवाइ गर्दैगर्दा जुनजुन मिडियाहरू र सामाजिक सञ्जालहरू खुसी हुँदै सफलताको लागि अग्रिम शुभकामनासहितका शब्दहरू मुखरित गरेका थिए तर अहिले तिनै मिडियाहरू र सामाजिक सञ्जालमा तीखा र नमिठा आलोचनाका स्वरहरू छरपस्ट भएका देखिन्छन् । यस्तो आलोचना गर्ने मौका उनीहरूले नै प्रदान गरेका हुन् ।
लामिछाने र लिङ्देन दुबैले १-१ जना विवादित छवि भएका व्यक्तिलाई सरकारमा सहभागी हुन मन्त्रीका रूपमा छानेपछि मिडियाहरू र सामाजिक सञ्जालमा आलोचना र टिकाटिप्पणीको बाढी नै आएको हो । अहिले अभिव्यक्त आलोचनाका स्वरहरूमा केही अंश राजनीतिक दाउपेचको पनि होला तर धेरै अंशचाहिँ नेपाली जनताको विश्वासमा लागेको चोटको शाब्दिक अभिव्यक्ति हो । जसमाथि धेरै विश्वास गरिएको हुन्छ, उसैसँग बढी रिसाइन्छ पनि । यस्तो रिस वा आलोचनाभित्र केवल गालीमात्र नभएर अलिकति आक्रोश, अलिकति खबरदारी, अलिकति मार्गनिर्देशन र अलिकति सुधारको अपेक्षा पनि मिसिएको हुनेगर्छ ।
लामिछाने र लिङ्देनहरू साना मसिना कुरामा चुक्नु हुँदैनथ्यो । उनीहरूलाई चुक्ने छुट पनि थिएन । उनीहरू चुक्तै गए भने अरू युवाशक्तिको पनि तेजोबध हुनेछ । अनि, चाउरिएका र मुजा परेका अनुहारहरू पुनः जुर्मुराउने छन् र युवाशक्तिलाई मजाकका पात्र बनाएर उडाउने छन् । त्यसै पनि उनीहरूलाई पानीका फोका मान्नेहरूको पनि कमी छैन, यस्ता अपरिपक्व निर्णयहरूले उनीहरूको मनोबल झन बढ्ने छ ।
लामिछाने र लिङ्देनहरूलाई व्यक्तिगत स्टण्ड गर्ने छुट पनि छैन । कुनै सन्दर्भमा कुनै व्यक्ति जतिसुकै चर्चित भए पनि सधैँ एउटै अवस्था रहँदैन । व्यक्तित्व उठाउन मात्र गाह्रो कुरा हो, गिराउन त एउटा सानो घटना नै पर्याप्त बन्दछ । त्यसैले पनि उनीहरूले पार्टीको जनादेश र सिङ्गो देशको जनभावनालाई काँधमा बोकेर हिड्न सक्नुपर्छ । उनीहरू चुके भने अथवा उनीहरूले पनि अरू पार्टीका बूढा नेताहरूजस्तै आफ्नो स्वार्थका लागि पार्टी र देश दुबैलाई दाउमा राख्ने कोसिस गरे भने यो मुलुककै लागि दुर्भाग्यपूर्ण हुनेछ । अनि ‘चुनावअगाडि जसले जे भने पनि सत्तामा पुगेपछि सबै उस्तै हुने रहेछन्, जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नजिर स्थापित हुनेछ । यसले नेपाली राजनीतिमा सम्भावना बोकेका सबै युुवाशक्तिलाई अपूरणीय क्षति गर्ने छ ।
रास्वपा र राप्रपा दुबै पार्टीमा एकसेएक सांसदहरू छन् । लामिछाने र लिङ्देनले विवादित व्यक्तिलाई नै मन्त्री नबनाएको भए सुनमा सुगन्ध हुने थियो । लामिछाने र लिङ्देनको छनोटमा त्रृटि देखिएकै हो । यस त्रुटिले उनीहरूको भनाइ र व्यवहारमा ठूलो अन्तर परेको देखाएको पनि होे । परिणमस्वरुप गृहमन्त्रीका रूपमा लामिछानेले गरेका केही उल्लेखनीय काम र निर्णयहरूलाई यही एउटा विवादित निर्णयले ओझेलमा पारिदिएझैं भयो । हाम्रो सामाजिक मनोविज्ञान पनि त्यस्तै छ, उनान्सय राम्रा कामको प्रशंसा कसैले गर्दैन तर एउटा गल्ती वा कमजोरीलाई उछालेर व्यक्तिको तेजोबध गरिदिन्छन् । यस्तो आलोचना गर्ने मौका पनि उनीहरूले नै उपलब्ध गराइदिएका हुन् ।
हुन त अहिलेको सरकारका प्रमुखदेखि अर्थमन्त्रीसम्म पनि ठूलै काण्डमा मुछिएका व्यक्तित्वहरू हुन् तर यी काण्डहरू पुराना भइसकेकाले नयाँ प्रसङ्गले चर्चा पाएको हो । यस चर्चामा ठूलै अपराध भयो भन्दा पनि आशा गरिएका व्यक्तिहरूबाट यस्तो अपरिपक्व निर्णय नगरिएको भए राम्रो हुन्थ्यो भनेर गरिएको मन दुखाइ बढी हो । यस्ता आलोचनात्म चर्चाले आगामी दिनहरूमा नेतृत्वले गर्ने हरेक निर्णयलाई थप परिपक्व पार्न मद्दत पुग्नुपर्छ । गल्ती कमजोरीबाट सिक्तै जाने मानवीय स्वभाव पनि हो ।