नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ माघ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-४ सितापाइलास्थित शरणपुर नमुनाबस्ती विकास समितिको भवनमा मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४५ वर्षीय ध्रुव कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कास्की, पोखरा महानगरपालिका-२५ सुईखेत कालिका चोक बस्ने ५० वर्षीय केशव परियार सोही ठाउँस्थित सुन्दरपुरी डाँडाको जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता ललितपुर, खोटाङ धारापानी गाउँपालिका-६ घर भई हाल ललितपुर महानगरपालिका-६ सिचा हिटीस्थित टहरा भाडामा लिई बस्ने ६१ वर्षीय सर्भधन मगर बुधबार सोही टहरामा मृत अवस्थामा फेला परेका छन् ।
यस्तै चितवन, भरतपुर महानगरपालिका-२९ स्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी पाँचथर, फालेलुङ गाउँपालिका-३ भञ्ज्याङ डेरा गरी बस्ने सोही गाउँपालिका-७ पापुन्दिन घर भएकी ६१ वर्षीया बिबरानी आङबो भञ्ज्याङस्थित पानीको कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता अर्घाखँची, शितगंगा नगरपालिका-९ ठाडाखोला बस्ने ५५ वर्षीय वीर बहादुर खत्री आफ्नो घर नजिकै सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१८ गोदावरी टोल बस्ने टेकबीर घर्तीको घरमा सोही उपमहानगरपालिका-१४ आनन्द टोल बस्ने २६ वर्षीय बिक्रम पुन बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मंगलबार राति खाना खाई सुतेका उनी बिहान मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले मृतकसँगै सुतेका १ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।