नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।

नेपाल हेयरिङ्ग एण्ड स्पिच केयर क्लिनिक प्रा लि ले श्रवण शक्ति समस्या भएका १४ जना व्यक्तिलाई नि:शुल्क श्रवणयन्त्र वितरण गरेको छ । शुक्रबार क्लिनिकले राजधानीमा एक कार्यक्रम गर्दै श्रवण शक्ति समस्या भएका १४ जना व्यक्तिलाई नि:शुल्क श्रवणयन्त्र वितरण गरेको हो ।
श्रुती संस्था तथा ईयर केयर नेपालको सहयोगमा आयोजना गरेको कार्यक्रममा मुख्य अतिथि शिवांटोज इन्डिया प्रा लिका सीइओ अभिनास पवारले नेपाल हेयरिङ्ग एण्ड स्पिचकेयर क्लिनिकद्वारा गरिएको यस पवित्र कार्यको सरहाना गर्दै आफूहरुले नयाँ टेक्नोलोजीद्वारा श्रवण समस्याको समाधानका साथै उच्चस्तरीय आधुनिक डिजिटल प्रविधियुक्त यन्त्रको उत्पादन गरी श्रवणयन्त्रको प्रयोगकर्तामा उच्च क्वालिटीको श्रवण अनुभव प्रदान गर्दै आएको अवगत गराए ।
पवारले भने, ‘सुस्त श्रवण जो सुकै र जुनसुकै उमेरमा हुन सक्दछ, तसर्थ यसले सामान्य जीवनयापन गर्नमा वाधा पर्याउनु हुँदैन। त्यसका लागि नयाँ प्रविधियुक्त सिग्नीया हेयरिङ्ग एडले यस्ता श्रवण समस्या भएका मानिसहरुमा सुन्ने क्षमाताको सुधार गर्दै तनावमुक्त जीवन जिउने आत्मा विश्वास जगाउँछ । यसैले हामीहरुले नेपालका श्रवण समस्या भएकाहरुमा सहयोग गर्न पाउँदा खुसी लागेको छ।’
शिवांटोज इन्डिया डब्लुएसए (WSA) समूहको एक हिस्सा हो, जुन श्रवणयन्त्रको अग्रणी उत्पादक मध्ये एक हो । शिवांटोज इन्डियाले लाखौं मानिसहरुमा उच्च प्रविधियुक्त श्रवणयन्त्र उत्पादन गरी सेवा गर्दै आएको छ । कार्यक्रममा इएनटी सर्जन डा मिलन महर्जन, अडियोलोजिष्ट निर्देशक रजत गौतम, श्रुती संस्थाकी अध्यक्ष निता केशरी भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

