नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेहुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

