सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल बहादुर शाह नियुक्त

नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेश प्रमुख देवराज जोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाह कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।



निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत प्राप्त नगरी पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कांग्रेसको संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री शाहले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यस्तै रावलले बिहीबारै प्रदेश प्रमुख देवराज जोशी समक्ष राजीनामा पेश गरिसकेका छन् ।

सम्बन्धित समाचार